गोरखा २३, भदौं । गोरखाका ८ जना कोरोना संक्रमित उपचारपछि निको भएर मंगलबार घर फर्किएका छन् । जिल्लाको गोरखा नगरपालिका वडा नम्बर ८ का १ जना र वडा नम्बर १३ का ५ जना संक्रमित निको भएर घर फर्किएको गोरखा अस्पतालका निमित्त मेडिकल सुपरीटेण्डेन्ट डा. नविन थापाले जानकारी दिनुभयो । संक्रमण पुष्टी भएपछि उनिहरुलाई उपचारका लागि गोरखा क्याम्पसको आईसोलेसनमा भर्ना गरिएको थियो ।
निको भएर घर फर्कनेमा ३४, ३८, ४३ र ५४ बर्षका ४ जना पुरुष तथा ३६ र १२ बर्षका २ महिला रहेका छन् । त्यस्तै गरी मंगलबार ( आज) नै गोरखा क्याम्पसको आइसोलेसनबाट गोरखा अदालतका १ जना कर्मचारी र पालुङटार नगरपालिकाका १ जना पुरुष पनि कोरोना जितेर घर फर्किएको गोरखा अस्पतालका सूचना अधिकारी कृण्ण ढकालले जानकारी दिनुभयो ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र प्रदेश जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको पछिल्लो कोरोना परीक्षण क्रममा रिर्पोट नेगेटिभ आएपनि उनिहरुलाई डिस्चार्ज गरिएको गोरखा अस्पतालले जनाएको छ ।