चितवन ५ भदौं । चितवनमा एक साता निषेधाज्ञा थप गरिएको छ । जिल्ला प्रशासन कार्यालयले चितवनले भदौं १२ गतेसम्मका लागि निषेधाज्ञाको अवधि थप गरेको हो । सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले निषेधाज्ञाको अवधि एक साता थप गर्ने निर्णय गरिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो,भोलिदेखि भदौं १२ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ ।
यसअघि जिल्लाका ६ वटा स्थानीय तहमा निषेधाज्ञा लागु गरिएकोमा यसपटक माडी नगरपालिकामा समेत निषेधाज्ञा जारी गरिएको सहायक प्रमुख जिल्ला अधिकारी शर्माले जानकारी दिनुभयो ।
पहिलोपटक गरिएको एक साताको निषेधाज्ञाको अवधि आज राति १२ बजेदेखि सकिदै थियो । चितवनमा पछिल्लो समय दैनिक जसो कोरोना संक्रमितको संख्या बढ्दै गइरहेकोले निषेधाज्ञाको अवधि थप गरिएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो ।