गोरखा ५, भदौं । गोरखामा खसी चोरीमा संलग्न ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको भीमसेन थापा गाउँपालिका– १ निवेल स्थित स्थानीयबासी भगवान बाँनियाको घरबाट चोरेर ल्याइएका दुईवटा खसी सहित उनिहरुलाई सदरमुकामको शक्ति चोकबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख एसपी सुरेन्द्रबहादुुर गुरुङले जानकारी दिनुभयो ।
खसी धनी बाँनियाले आफ्नो घरको २ वटा खसी चोरी भएको भन्दै सदरमुकाममा निगरानीका गर्न प्रहरी र आफ्न्तलाई सूचना दिएको आधारमा उनीहरुलाई गएराती शक्तिचोकबाट नियन्त्रणमा लिएका प्रहरीले जनाएको छ । पक्राउ पर्ने मध्ये चोरी भएको खसी बजारमा बेच्न सहयोग गर्ने जिल्लाको अजिरकोट गाउँपालिका–१ घ्याचोकका खेतमान गुरुङ, खसी लिन जाने भारतीय नागरिक दिनानाथ शाहनी र चोरी भएको खसी खरिद गर्ने सुदाम गुप्ता रहेको एसपी गुरुङले जानकारी दिनुभयो ।
उनिहरुको साथबाट चोरी गरि ल्याइएका करिब ४० केजी बराबरको २ वटा खसी समेत बरामद गरिएको उहाँको भनाई छ । पक्राउ परेका गुप्ताले गोरखा बजारको बिसौनी मोडमा फलफुल ब्यवसाय गर्दै आएका छन् भने शाहनीले नयाँ बजारमा पाउरोटी उद्योग सञ्चालन गर्दै गर्दै आएका छन् । खसी चोरी गर्ने मुख्य अभियुक्तको भने खोजी कार्य जारी रहेको एसपी गुरुङले बताउनुभयो । चोरी गरि ल्याइएको खसी जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । जिल्लामा चाडपर्व नजिकिदै जादाँ खसी चोरी घटना बढ्ने गरेको छ ।