Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

उदाउँदै गरेको सूर्य चुनाव चिन्ह लिएर यसरी दर्ता भयो नेकपा एमाले


5.4K
Shares

उदाउँदै गरेको सूर्य चुनाव चिन्ह लिएर यसरी दर्ता भयो नेकपा एमाले

काठमाडौं, ४ भदौ । निर्वाचन आयोगले सत्तारुढ दल नेकपाको चुनावी चिह्नसँग मेल खाने गरी नयाँ राजनीतिक दललाई पनि चुनाव चिह्न प्रदान गरेको छ ।सत्तारुढ दल नेकपा र बुधबार आयोगबाट दलको प्रमाणपत्र पाएको नेकपा एमाले दुवैको चुनाव चिह्न सूर्य भएको छ । नेकपाको चुनाव चिह्न सूर्य र नेकपा एमालेको उदाउँदै गरेको सूर्य भएको छ ।तर, निर्वाचन आयोगले दुवै दलको चिह्न सूर्य भए पनि फरक रहेको दाबी गरेको छ । दुवै दलको चुनाव चिह्न सूर्य कसरी हुन्छ रु आयोग प्रवक्ता राजकुमार भन्नुभयो, ‘नेकपा र अहिलेको नेकपा एमालेको चिह्न सूर्य नै भए पनि फरक छ ।

अहिले प्रयोग भइरहेको सूर्यचाहिँ सूर्य चिह्न मात्रै छ । अहिले नेकपा एमालेले प्रस्ताव गरेकोमा चाहिँ दुई डाँडाको बीचमा उदाउँदै गरेको सूर्य छ ।’ प्रवक्ता श्रेष्ठले भन्नुभयो , ‘यसअघि पनि आयोगले गाई र गोरु चिह्न, रोलर र डोजर चिह्न पनि दिएको छ । आयोगले त्यसलाई फरक नै मानेको छ ।’नेकपा एमालेका महासचिव मनीषकुमार उपाध्यायले जिन्दगीमा कहिल्यै नअस्ताउने पार्टीको रूपमा आफूहरूले उदाउँदै गरेको सूर्यलाई चिह्नको रूपमा लिएको बताउनुभयो। ‘उदाइसकेको सूर्य कस्तो हुन्छ सबैले देखिसकेका छौं, अस्ताए जस्तै भएको छ । अब हामी मदन भण्डारीको पथमा लाग्ने हो । जिन्दगीमा पनि नअस्ताउने भनेर हामीले उदाउँदै गरेको सूर्य चिह्न लिएका हौँ । उदाउँदै गरेको छ, जिन्दगी अस्ताउँदैन भनेको हो ।’

निर्वाचन आयोगको बुधबार बसेको बैठकले नेकपा एमालेलाई सबै कागजात हेरेर प्रमाणपत्र दिने निर्णय गरेको थियो । आयोगका प्रवक्ता श्रेष्ठले भन्नुभयो, ‘बुधबार बैठक बसेर हामीले प्रमाणपत्र दिने निर्णय गरेका थियौँ । उहाँहरूले पेस गरेको कागजपत्र अध्ययन गरेर प्रमाणपत्र दिएका छौँ ।’आयोगले दिएको प्रमाणपत्रअनुसार उक्त दलको दर्ता नम्बर १६० रहेको छ । पार्टीको पूरा नाम नेपाल कम्युनिस्ट पार्टी (एकीकृत माक्र्सवादी–लेनिनवादी) रहेको छ । नाममा कतै पनि कमा, फुलिस्टप राखिएको छैन । राजनीतिक दलको केन्द्रीय कार्यालय कामनपा–१० काठमाडौंमा रहने बताइएको छ ।

नेकपा एमालेका महासचिव उपाध्यायले आयोगले निर्णय गरेपछि आठ–दशजना पदाधिकारी पुगेर प्रमाणपत्र लिएको बताउनुभयो  । उहाँले भन्नभुभयो, ‘हामीले प्रमाणपत्र लियौं, अब पार्टीका क्रियाकलाप अघि बढाउँछौं ।’पूर्व एमाले नेताहरूसँग निकट व्यक्तिहरूले निर्वाचन आयोगमा नेकपा एमाले दर्ता गरेका थिए । नेकपा एमालेमा २१ जना पदाधिकारी रहेका छन् । विराटनगर–६ मोरङ घर भएकी सन्ध्या तिवारी पार्टीको अध्यक्ष रहनु भएको छ । त्यस्तै, भगवती खड्का उपाध्यक्ष, मनीषकुमार उपाध्याय महासचिव, अस्मिता सुनार सचिवलगायत पदाधिकारी रहेका छन् ।

नेकपा एमाले र माओवादी पार्टी एकता भएको वर्ष दिन नाघिसकेकाले नेकपा एमालेनामक दल दर्ताका लागि बाटो खुलेको थियो । ‘पार्टीको नाम नदोहोरियोस् र कुनै पार्टीको एउटा नाम लिइसकेपछि त्यो नाम अरूले प्रयोग नगरोस् भन्नका लागि एक वर्षको म्याद राखिन्छ । तर, दुई पार्टी एकता भएको एक वर्षपछि नाम भने प्रयोग गर्न सक्छन्,’ आयोग प्रवक्ताले भन्नुभयो । दुई वर्षअघि नेकपा गठन भएसँगै नेकपा एमाले र माओवादी पार्टी भंग भएका थिए ।

पूर्व एमाले नेताहरूसँग निकट व्यक्तिहरूले निर्वाचन आयोगमा नेकपा एमाले दर्ता गरेका थिए । मदन भण्डारीको जन्मदिन पारेर उनीहरूले १४ असारमा दल दर्ताको निवेदन दिएका थिए । त्यसपछि यो विषय १६ असारको नेकपाको स्थायी कमिटी बैठकमा ठूलो मुद्दा बनेको थियो ।

उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीकै निर्देशनमा नेकपा एमाले दर्ताका लागि निवेदन आएको ठोकुवा समेत गर्नुभएको थियो । उहाँको भनाइ थियो, ‘नेकपा एमाले दर्तामा केपी शर्मा ओलीको हात छ ।

मसँग प्रमाण छ, सूचना छ, यदि छानबिन भयो भने म उनीहरूलाई बयान दिन तयार छु ।’ नेकपा एमाले दल दर्ताको निवेदन आयोग पुगेपछि एउटा समूहले ओलीले पार्टी विभाजन गर्ने रणनीतिअनुसार नयाँ दल दर्ता गराउन लगाएको आरोप लागेको थियो । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology