गोरखा २ भदौं । कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा एकैदिन दुई जनाको मृत्यु भएको छ । योसँगै गण्डकीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७ पुगेको छ । तनहुँको व्यास नगरपालिका–१ की ५० वर्षीया महिलाको गएराति कास्कीको सेवा अस्पतालमा कोरोना संक्रमणबाट मृत्यु भएको हो । यस्तै, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत पोखरा महानगरपालिका–१६ का ८७ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको छ ।
तनहुँकी ५० वर्षीया महिला हेपाटाइटिस, निमोनिया, सुगर, प्रेसर र मुटुको समस्याले कास्की सेवा अस्पतालमा भर्ना भएकी थिइन् । उनको गएराति ११ बजेर ३५ मिनेटमा मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
हिजो बिहान लिइएको उनको स्वाबको नजिता गएराति नौ बजे पोजिटिभ आएको थियो । आज बिहान मृत्यु भएका पुरुषमा पनि कोभिड(१९ संक्रमणका अलवा उच्च रक्तचाप, मधुमेह र मिर्गौला लगायतको समस्या रहेको अस्पतालले जनाएको छ। उनको शव नेपाली सेनाले व्यवस्थापन गरेको छ ।