गोरखा ३१, साउन । ट्राभल हिस्ट्री नै नभएका एक व्यक्तिमा कोरोना पुष्टी भएपछि गोरखाको पालुङटार नगरपालिकाले नगरक्षेत्रमा लकडाउन घोषणा गरेको छ । नगरपालिकाले शनिबार एक सूचना जारी गर्दै साउन ३२ गतेदेखि भदौं ७ गतेसम्मका लागि नगरपालिका क्षेत्र भित्र लकडाउनको घोषणा गरेको हो । देशभर संक्रमणको जोखिम बढी रहेका बेला ट्राभल हिस्ट्री नै नभएका पालुङटार नगरपालिका–४ का एक व्यक्तिलाई कोरोना संक्रमणको पुष्टी थियो ।
संक्रमित व्यक्तिको कुनै ट्राभल हिस्ट्री नभएको र क्वारेन्टाइनमा बसेको व्यक्ति समेत नरहेको नगरपालिकाले जनाएको छ । उनि घरबाट चितवनमा उपचारका लागि गएपछि मात्र संक्रमणको पुष्टी भएको हो । समुदायमा नै संक्रमण देखिएपछि थप संक्रमण फैलन सक्ने जोखिमलाई मध्यनजर गरि नगरपालिकाले नगरक्षेत्र भित्र ८ दिनका लागि लकडाउनको घोषणा गरेको हो ।
लकडाउन अबधीभर अत्याबश्यक बाहेका सवारी साधन सञ्चालन गर्न नपाइने तथा बिना काम जथाभावी हिडडुल गर्न तथा आवाजजावत गर्न समेत नपाइएको सूचनामा उल्लेख गरिएको छ । सूचनामा नगरक्षेत्र भित्र स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र अतिआबश्यक सेवामा खटिने कर्मचारी, एम्बुलेन्स, खाद्यान्य, पानी तथा तरकारी बोकेका सवारी साधान आदी भने सञ्चालन गर्न पाइने छ । त्यस बाहेक उद्योग कलकारखना, बैंक तथा बित्तिय संस्थाहरुलाई बन्द हुने नगरपालिकाले जनाएको छ ।
नगरक्षेत्र भित्र लकडाउन अबधीभर अतिआबश्यक खाद्यान्य लगायतका पसलहरु बिहान ६ बजेदेखि १० बजेसम्म र बेलुकी ४ बजेदेखि ६ बजेसम्म खोल्न पाइने नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख छ । त्यस्तै मास्क नलगाई हिड्नेलाई २० रुपैया जरिवाना गर्ने निर्णय समेत नगरपालिकाले गरेको छ । पालुङटार नगरपालिकाको सिमा क्षेत्रमा पर्ने बन्दिपुर गाउँपालिका, भानु नगरपालिका लगायतका क्षेत्रमा समेत डकडाउनको घोषणा गरिएको छ ।
भानु नगरपालिका भित्र २२ जनामा कोरोना संक्रमण पुष्टी भएपछि त्यहाँ थप संक्रमण फैलन नदिन लकडाउन घोषणा गरिएको हो । त्यस्तै बन्दिपुर गाउँपालिकाले भने छिमेकी भानु नगरपालिकामा संक्रमण बढेपछि पालिका भित्र लडडाउनको घोषणा गरेको हो ।