गोरखा ३१, साउन ।जनता समाजबादी पार्टीले गोरखाको भीमसेन थापा गाउँपालिकाको योजना खर्च बिवरण माग गरेको छ । पार्टीको गाउँपालिका स्तरीय समितिले गएको आर्थिक बर्ष २०७६/०७७ को कार्यक्रम र सम्पन्न योजनाहरुको बजेट सहितको खर्च बिवरण माग गरेको अध्यक्ष रोहित पाण्डेले जानकारी दिनुभयो ।
गाउँपालिकालाई नागरिकहरु प्रति जनउत्तरदायी बनाउन, सुशासन कायम गर्न गराउन, जनताको आवाजलाई सम्बोधन गर्नका लागि यस्तो माग गरिएको उहाँको भनाई छ । साथै स्थानीय सरकारलाई दायित्व बोध गराउन, अनुगमन र मूल्याङकलाई पारदर्शी बनाउन पनि सूचनाको हक प्रयोग गरि योजना तथा कार्यक्रम माग गरिएको अध्यक्ष पाण्डेले बताउनुभयो ।
पार्टीले गाउँपालिकासंग गत वर्षमा बेरुजु भएको रकम सहित सम्पन्न भएका सवै नीति तथा योजना, गाउँपालिका भित्रका एनजिओ, आइएनजिओको कार्यक्रम, योजनाको बिवरण उपलब्ध गराउन भनेको छ । गाउँपालिकाले योजनाको अनुगमन प्रभावकारी रुपमा नगरेको, नक्कली कागजपत्रको आधारमा बिभिन्न योजनाहरुको भुक्तानी गरेको गुनासो त्यस क्षेत्रका नागरिकहरुले गर्दै आएका छन् ।
पार्टीले चालु आर्थिक बर्ष २०७७/०७८ को बजेट, नीति तथा कार्यक्रम उपलब्ध गराउन पनि गाउँपालिकासंग माग गरेको छ ।