दीपक श्रेष्ठ
गोरखा ३०, साउन । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले कोरोना संक्रमण फैलिदै गएका बेला सरकारको प्राथमिकता अस्पताल बनाउने नभई मन्दिर बनाउने तर्फ रहेको बताउनु भएको छ । गोरखा सदरमुकाममा शुक्रबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै जनता समाजबादी पार्टी नेपालका बरिष्ट नेता समेत रहनु भएका पूर्वप्रधानमन्त्री डा. भट्टराईले यस्तो बताउनु भएको हो ।
‘कोरोना संक्रमण फैलदै जादाँ संक्रमित बिरामीको उपचारका लागि उपकरण हुनुपर्यो, उपचारका नपाएका कारणले, हस्पिटल बेड नभएका कारणले, भेन्टिलेटर नभएका कारण मानिस मरिराखेका छन्, डा. भट्टराइले भन्नुभयो, ‘तिनलाई राख्ने ठाउँ छैन, क्वारेन्टिनका निम्ति जति तयारी हुनुपर्थ्यो त्यो पनि छैन, आगामी दिनमा पनि कोरोना घट्ने नभई बढ्ने भएकाले त्यस्तो कुरालाई पहिलो प्राथामिकता दिनुपर्छ ।’
डा. भट्टराइले सरकारले कोरोना संक्रमणको बेला राममन्दिर र सवै कुरा छोडेर हस्पिटल निर्माण तर्फ लाग्नु पर्नेमा जोड दिनुभयो । ‘प्रधानमन्त्री तर्फ लक्षित गर्दै उहाँले भन्नुभयो, ‘पहिलो कुरा उहाँले चिन्तन फर्नेपर्यो ।’बिश्वमा सवै भन्दा बढी संक्रमित मुलुकमा मध्ये तेस्रो स्थानमा रहेको भारतमा तिव्र गतिमा कोरोना संक्रमण बढ्दै गएको पाइएको भन्दै त्यसको असर नेपालमा पनि प्रत्यक्ष रुपमाा पर्ने भएकाले बेलैमा सवै सर्तक हुनुपर्ने पूर्वप्रधानमन्त्री डा. भट्टराईले उल्लेख गर्नुभयो ।
‘राज्य सत्ता र साधन स्रोत सरकारसंग भएकाले नागरिकहरुको सुरक्षाको गर्ने दायित्व सरकारसंगै हुन्छ, उहाँले भन्नुभयो, ‘हामीहरुले सरकारलाई सर्तक गराउने मात्र काम हो ।’ उहाँले कोरोना संक्रमणका बेला सत्तारुढ पार्टी आफ्नै पाटी भित्रको बिबादमा अल्झिएर बसेको आरोप समेत लगाउनुभयो । पूर्वप्रधानमन्त्री डा. भट्टराईले सरकारले भरपर्दो माध्यमबाट कोरोना परीक्षणको दर बढाउनुपर्नेमा जोड दिनुभयो । ‘कोरोना घट्ने भन्दा बढ्ने अबस्थामा छ, उहाँले भन्नुभयो, राज्यले अब संक्रमित बिरामी राख्नका लागि भेन्टिलेटर, परीक्षणका लागि उपकरण लगायतलाई अब पहिलो प्राथामिकता दिनुपर्छ ।’