गोरखा २९, साउन – गोरखामा पछिल्लो समय कोरोना भाइरस (कोभिड १९) को जोखिम बढेको भन्दै अत्याधिक भीडभाड हुने सरकारी कार्यालयमा अत्यावश्यक बाहेकका सवै काम भोलिदेखि बन्द गर्ने निर्णय भएको छ । आज बसेको जिल्ला स्तरीय कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा व्यवस्थापनका लागि गठित जिल्ला स्तरीय कमाण्डपोष्टको बैठकले सेवाग्राहीको बढी भीड हुने जिल्ला प्रसासन कार्यालय र मालपोत कार्यालयमा भोलिदेखि नै अत्यावश्यक बाहेका काम बन्द गर्ने निर्णय गरेको हो ।
‘अन्य सरकारी कार्यालयहरुमा पनि आवश्यकता अनुसार रोक्ने भन्ने निर्णय भएको छ, प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराइले भन्नुभयो, ‘तत्काल भने यि दुई कार्यालयमा सेवाग्राहीको अत्याधिक भीडभाड देखिएपछि काम रोक्नुपर्ने निर्णय गरिएको हो ।’ बैठकले जिल्ला भित्रका बैंक तथा बित्तिय संस्थाहरुमा बढी भीडभाड हुने अबस्था आए बैंकिङ कारोवार समेत रोक्न सकिने बताउनुभयो ।
‘जिल्ला भित्रका धार्मिक स्थलहरुमा समेत बन्दाबन्दी फिर्ता भएसंगै अत्याधिक चहलपहल बढेको पाइएको छ, प्रमुख जिल्ला अधिकारी भट्टराईले भन्नुभयो, ‘त्यसले सम्भावित संक्रमणको जोखिमलाई बढाउने भएकाले ति सबै धार्मिक स्थलहरुमा नित्य पुजा बाहेकका अन्य पुजा रोक्ने निर्णय पनि बैठकले गरेको छ ।’
बैठकले चाडपर्वहरु स्वास्थ्य मापदण्ड पुरा गरी घर परिवारका बिचमा मात्र मनाउन, शैक्षिक संस्थाका साथै कुनै पनि प्रकारका गोष्ठी, सेमिनार, तालिम, प्रर्दशन, भेला तथा सिनेमा हल, पार्टी प्यालेसहरुलाई पूर्ण रुपमा गर्न भनेकोे उहाँले बताउनुभयो ।
त्यस्तै मनोरञ्जन स्थल, सैलुन, जिमखाना, ब्यूटीपार्लर, स्पा तथा स्विमिङ पुल बन्द गराउने, फुटपाथ तथा खुल्ला स्थानमा रहेको ठेलागाडा, साइकल, तरकारी तथा खाद्यान्न वा फलफुल, लत्ताकपडा र कवाडी संकलन तत्कालका लागि बन्द गराउने बैठकले निर्णय गरेको उहाँले बताउनुभयो । निर्णयको उल्लंधन गर्ने कार्य गरेको पाइएमा संक्रमण ऐन २०२० अनुसार कानूनी कारवाही गर्ने प्रमुख जिल्ला अधिकारी भट्टराईले जानकारी दिनुभयो ।