Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या बढ्यो :पछिल्लो २४ घण्टामा १० जनाको ज्यान गयो


4.3K
Shares

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या बढ्यो :पछिल्लो २४ घण्टामा १० जनाको ज्यान गयो

काठमाडौँ २९, साउन । नेपालमा कोरोना )भाइरस कोभिड १९) का कारण दैनिक ज्यान गुमाउनेको सख्या बढ्न थालेको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा मात्रै संक्रमणका कारण १० जनाको मृत्यु भएको पुष्टि गरेको छ । पछिल्लो पटक एकै दिन मोरङ, बारा र धनुषाका दुई–दुई जना तथा काठमाडौं, कपिलवस्तु, महोत्तरी र धादिङका एक–एक जनाको मृत्यु भएको हो । तीमध्ये पाँच जना राजधानीका अस्पतालमा उपचाररत थिए । ‘एक दिनमा हालसम्मकै सबैभन्दा बढी मृत्यु पुष्टि बुधबार भयो,’ मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले भन्नुभयो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार बुधबार बिहान काठमाडौं महानगरपालिका–१२, टेकु निवासी ७८ वर्षीया एक महिलाको किस्ट मेडिकल कलेज शिक्षण अस्पतालमा मृत्यु भएको छ । त्यस्तै धनुषाका पूर्वमेयर ७३ वर्षीय कृष्ण गिरीको कोराना संक्रमणका कारण मंगलबार राति सवा १२ बजेतिर मृत्यु भएको छ । यसैगरी साउन १८ मा संक्रमण पुष्टि भएकी जनकपुर–८ की ३८ वर्षीया महिलाको पाटन अस्पतालमा बुधबार उपचारका क्रममा मृत्यु भएको छ । यस्तै, बाराको कलैया उपमहानगरपालिकाका ७५ वर्षीय पुरुषको किस्ट मेडिकल कलेजमा बुधबार मृत्यु भएको छ ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको आइसोलेसनमा मोरङको बूढीगंगा गाउँपालिका–२ का ५५ वर्षीय पुरुषको पनि बुधबारै कोरोना संक्रमणबाट मृत्यु भएको छ । ज्वरो, खोकीसँगै श्वासप्रश्वासमा समस्या आएपछि उहाँ कोसी अस्पताल पुग्नु भएको थियो  । बुटवलस्थित कोरोना विशेष अस्पतालमा पनि बुधबार एक संक्रमितको मृत्यु भएको छ । कपिलवस्तु–२, तौलिहवाका ४२ वर्षीय पुरुषको संक्रमणले मृत्यु भएको हो । बुधबारै मृत्यु भएका कपिलवस्तु–१३, कृष्णनगरका २५ वर्षीय युवकको भने पीसीआर परीक्षणको रिपोर्ट आउन बाँकी छ । दुवै जनाको भेन्टिलेटरमा उपचार भइरहेको थियो । दुवैमा श्वासप्रश्वासमा समस्या, खोकी लाग्ने, ज्वरो आउनेजस्ता लक्षण थिए ।

कोसी अस्पतालको कोभिड–१९ उपचार केन्द्रमा उपचाररत विराटनगर महानगरपालिका–५ का ५७ वर्षीय पुरुषको पनि बुधबारै मृत्यु भएको छ । उनी नेपाल विद्युत् प्राधिकरण विराटनगर वितरण केन्द्रका प्राविधिक थिए । वीरगन्ज महानगरपालिका–१६ नगवाको सामुदायिक प्रहरी चौकी नजिकै मंगलबार दिउँसो मृत फेला परेका बाराको विश्रामपुर गाउँपालिका–५ इटियाहीका ३८ वर्षीय युवकमा बुधबार कोरोना पुष्टि भएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक मनोजित कुँवरका अनुसार ती युवकले अत्यधिक मदिरा सेवन गरेको पाइएको छ । शंका लागेर उनको मंगलबार स्वाब संकलन गरिएको थियो ।ज्वरो आएर राजधानीस्थित ह्याम्स अस्पतालमा उपचारका क्रममा मंगलबार मृत्यु भएका धादिङको नीलकण्ठ नगरपालिका–१४ का ३९ वर्षीय युवकमा पनि बुधबार कोरोना पुष्टि भएको छ ।

यस्तै, उपचारका क्रममा सोमबार राति मृत्यु भएका महोत्तरीको मटिहानी नगरपालिकाका ६ का ५२ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको छ । फोक्सो र मधुमेहका बिरामी उनी आइतबार जनकपुरस्थित रामजानकी अस्पताल भर्ना भएका थिए । भोलिपल्ट मंगलबार शव गाउँ ल्याएर अन्तिम संस्कार गरिसकेपछि राति रिपोर्ट पोजेटिभ आएको थियो । प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले मृतकको अन्तिम संस्कारमा सहभागी र अन्यको कन्ट्याक्ट ट्रेसिङ भइरहेको जानकारी दिनुभयो  ।

काठमाडौं उपत्यकामा दिनमा सयभन्दा बढी संक्रमित थपिइरहेका छन् । पछिल्लो समय कोरोना संक्रमितहरूको एक्कासि मृत्यु हुने अवस्था देखिनु खतराको संकेत भएको बिज्ञहरुको भनाई छ । बुधबार मात्र १ सय ३८ जनामा संक्रमण पुष्टि भएको छ

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology