गोरखा २८, साउन । दोस्रो चरणको कन्ट्रयाक्ट ट्रेसिङ गरिएका गोरखा नगरपालिका ९ लक्ष्मीबजारका क्षेत्रमा आज समुदाय स्तरका थप १ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । राष्ट्रिय स्वास्थ्य प्रयोगशाला टेकुमा भएको स्वांब परीक्षणका क्रममा लक्ष्मीबजारका २२ बर्षिय एक पुरुषमा कोरोना संक्रमणको पुष्टी भएको स्वास्थ्य कार्यालय गोरखाका सूचना अधिकारी राजुरमण न्यौपानेले जानकारी दिनुभयो ।
संक्रमित व्यक्तिलाई गोरखा क्याम्पसको आइसोलेसनमा उपचारका लागि ल्याइएको उहाँले बताउनुभयो । पहिलो पटक स्थानीय २४ बर्षिय महिलामा संक्रमणको पुष्टी भएपछि उनको सम्पर्कमा आएका व्यक्तिहरुको कोरोना परीक्षणका क्रममा त्यहाँ थप ३ जनामा संक्रमणको पुष्टी भएपछि दोस्रो चरणमा कन्ट्रयाक्ट ट्रेसिङ गरिएको थियो ।
दोस्रो चरणमा गरिएको कन्ट्रयाक्ट ट्रेसिङमा स्वांब संकलन गरिएको मध्ये ३५ एक पुरुषमा हिजो कोरोना संक्रमणको पुष्टी भएको थियो । यो संगै लक्ष्मी बजार क्षेत्रमा समुदाय स्तरमा ५ जनामा कोरोना सरेको पुष्टी भएको छ ।
नगरपालिकाका अनुसार दोस्रो चरणको कन्ट्राक्ट ट्रेसिङ गरिएका मध्ये पनि अझै ६ जनाको भने रिर्पोट आउन बाँकी रहेको उहाँको जानकारी दिनुभयो । आज कोरोना संक्रमणको पुष्टी भएका २२ बर्षिय पुरुषको सम्पर्कमा आएका ३७ जनाको पनि स्वाब संकलन भएको गोरखा नगरपालिकाले जनाएको छ ।