गोरखा २४, साउन – गोरखाको गण्डकी गाउँपालिका–८ मलेओडारमा पर्ने बेनिघाट–आरुघाट सडकखण्ड पहिरोले अबरुद्ध भएको छ । शनिबार बिहान गएको पहिरोले सडक पूर्ण रुपमा अबरुद्ध भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरीक्षक बासुदेव खतिवडाले जानकारी दिनुभयो ।
बेनिघाट बजारदेखि करिब एक किलोमिटर पूर्व तर्फ माथिबाट खसेको ठूलो पहिरोले सडक अबरुद्ध भएको वडाध्यक्ष रामप्रसाद लामिछानेले जानकारी दिनुभयो । ‘पहिरो फुजेल लगायतका क्षेत्रबाट आएका र बेनिघाट हुदै उत्त सडकखण्ड भएर चल्ने सवारी साधन रोकिएका छन्, उहाँले भन्नुभयो, पहिरो हटाउनका लागि मेसिन खोज्ने काम भइरहेको छ ।’
पहिरो ठूलो भएकाले तत्काल हटाउन सक्ने सम्भावना भने नहेको वडाध्यक्ष लामिछानेको भनाई छ । ‘दिनभरी मेसिन लगाउन सकियो भने हटाउन सकिन्छ भन्नेछ, उहाँले भन्नुभयो, ‘केहीदिन अघि मात्र सोही ठाउँमा गएको पहिरो हटाइएको थियो, फेरि आज पनि पहिरो खसेछ ।’
झण्डै ७० मिटर माथिबाट खसेको ठूलो पहिराले सडक पुरेर बुढीगण्डकी नदीमा पुगेको प्रत्यक्षदर्शीको भनाई छ । ‘ठूलाठूला ढुङगाहरु पनि पहिरोसंगै खसेको छ, सानो मेसिनले ढुङगा पहिरो हटाउनेसक्ने सम्भावना छैन, प्रत्यक्षदर्शी, सुजन लामिछानेले भन्नुभयो,‘ पहिरो करिब बिहान साढे १० बजे तिर खसेको हो ।’ पहिरोले सडक अबरुद्ध भएपछि यात्रुहरु बाटोमा नै अलपत्र परेको उहाँले बताउनुभयो ।