राजेन्द्र न्यौपाने
गोरखा, २४ साउन । जिल्लाको उत्तरी क्षेत्र धार्चे गाउँपालिका भित्र रहेका ३०११ घरधुरीले खाद्यन्न राहत पाएका छन् । उक्तघरधुरीमा ६० लाख भन्दा धेरै मूल्यको खाद्यन्न लकडाउनका समयमा वितरण भएको हो । विभिन्न संघ संस्थाहरुको सहयोगमा धार्चे गाउँपालिका भित्रका सहयोगी नागरिकहरुले राहत प्रदान गरेका ह्न । सहयोग गर्ने संस्थाहरुमा फ्रेन्डस अफ सिङ्ला स्टिफटुङ स्विस बाट ११३२ घर, मोइना एशोसिएसन फ्रान्सबाट ११२४ घर,घले इन्टरप्राइजेज अष्टे«लियाबाट ३२० घर, हिमालय यात्रा काठमाण्डौंबाट २०० घर,लेस विस्तारित फ्रेन्सबाट ८६ घर, लापु चर्जबाट ८० घर, नमस्ते गुम्दा काठमाण्डौबाट ६९ घरधुरीका लागि राहत प्रदान भएको हो । प्रत्येक घरधुरीका लागि ३० केजी चामल, एक लीटर तेल, एक केजी नुन, साबुन लगायतका सामग्रीहरु वितरण भएको थियो । पालिका भित्रको वडा नं. १, २, ३, ५, ६, ७ का प्रत्येक घरधुरीलाई राहत वितरण भएको हो ।

राहत वितरण कार्यमा पुर्वमन्त्री छम बहादुर गुरुङ, सम्बन्धित संस्थाका प्रतिनिधिहरु, स्थानीय जनप्रतिनिधि, राजनैतिक पार्टीका प्रतिनिधिहरुको संलग्नता रहेको थियो । संकटका समयमा सहयोग जुटाएर गाउँमा सहयोग गरेको भन्दै स्थानीयवासीहरुले खुशी व्यक्त गरेका छन् । कोरोना भाइरसका कारण दैनिक जीवन असहज बनेपछि थोरै भएपनि सहयोग पुगोस् भन्ने उदेश्यका साथ धार्चे गाउँपालिका भित्रका नागरिकहरुलाई केही खाद्यन्न वितरण गरिएको फ्रेन्डस अफ सिङ्ला स्टिफटुङ स्विसका अध्यक्ष सोम गुरुङले जानकारी दिनुभयो ।

यसैवीच धार्चे गाउँपालिकाका लागि विभिन्न संघ संस्थाहरुले पालिकाको विपदकोष खातामा रकम जम्मा गरेका छन् । गण्डकी प्रदेश सरकारबाट पाँच लाख, मोइना एशोसिएसन फ्रान्सबाट चारलाख, गुड नेभर संस्थाबाट दुई लाख ८० हजार, साधना लघुवित्त संस्थाबाट ५० हजार गरी १२ लाख ३० हजार रुपैयाँ पालिकाको खातामा जम्मा भएको पालिकाले जनाएको छ ।