गोरखा २२, साउन । गोरखाको सिरानचोक गाउँपालिकाको केन्द्र चित्रेपोखरीबाट सेवा सुरु भएको छ । पालिकाले बुधबारदेखि पालिकाको सबै सेवा चित्रेपोखरीबाट दिन थालेको हो । साविक छोप्राकमा रहेको सबै कार्यालय अहिले चित्रेपोखरीमा सारी सकिएकोले सोही स्थानबाट सेवा दिन थालिएको पालिकाका अध्यक्ष राजु गुरुङले जानकारी दिनुभयो । ‘कार्यालयका केही सामाग्री ल्याउन बाँकी छ । भोलीसम्ममा सबै सामाग्री ल्याउने कोशिसमा छौ’ अध्यक्ष गुरुङले भन्नुभयो ।
शुक्रबार सम्ममा सबै कार्यालयका सामाग्री चित्रेपोखरीमा सारी सक्ने र आउदो आइतबार देखी काममा सहजता आउने पालिकाले जनाएको छ । गएको असार ३१ गतेको गाउँसभाले पालिकाको केन्द्र चित्रेपोखरीमा सार्ने निर्णय पछि हिजोबाट निर्णय बमोजिम सेवा सुरु गरेको हो ।
पालिकाले अहिले करिब २० वटा कोठा भाडामा लिएर अफिस सञ्चालन गरेको छ । आउदो केही महिना भित्रै अस्थायी संरचना तयार गरि पालिका भित्रका सर्व साधारणहरुलाई सेवा दिने समेत पालिकाले जनाएको छ । पालिकाका लागि चित्रेपोखरीका स्थानियले करिब १०० रोपनी जमिन निशुल्क उपलब्ध गराउने सहमती भए पछि साविकको स्थानबाट कार्यालय सारीएको हो ।