गोरखा २१ साउन । गोरखामा आज थप ३ जना पुरुषमा कोरोना संक्रमण पुष्टी भएको छ । जिल्लाको सिरानचोक र बारपाक सुलिकोट गाउँपालिकामा गरी ३ जनामा कोरोना संक्रमण पुष्टी भएको हो । कोरोना पुष्टी हुने ३ जना नै विदेशबाट आएर स्थानिय पालिकाको क्वारेन्टाइनमा बस्दै आएकाहरु भएको स्वास्थ्य कार्यालय गोरखाले जानकारी दिएको छ ।
संक्रमित मध्ये सिरानचोक गाउँपालिका ५ छोप्राकका २५ बर्षका पुरुष भारतीय सेनाको जागिरबाट बिदामा घर आएका हुन् । असार ११ गते आएर चित्रे पोखरी माविमाको क्वारेन्टाइनमा बसेका उहाँलाई कोरोना संक्रमण पुष्टी भएको गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख रामचन्द्र पाण्डेले जानकारी दिनुभयो । त्यस्तै गरी बारपाक सुलिकोट गाउँपालिका पनि आज नै थप २ जना पुरुषमा कोरोना संक्रमण पुष्टी भएको छ ।
साउदी र कुबेतबाट आएर उनीहरु क्वारेन्टाइनमा बस्दै आएका थिए । संक्रमित मध्ये बारपाक सुलिकोट गाउँपालिका २ का २९ बर्षिय र बारपाक सुलिकोट गाउँपालिका ३ का २२ बर्षिय पुरुष भएको गाउँपालिकाका स्वास्थ्य प्रमुख कृष्ण भट्टले जानकारी दिनुभयो ।
उनीहरु साउन ४ गते नै पाँचखुवा देउरालीमा रहेको शैलपुत्री माध्यामिक बिधालयको क्वारेन्टिनमा बस्दै आएका थिए । संक्रमित सवैलाई गोरखा अस्पतालको आइसोलेसनमा ल्याउने तयारी भइरहेको छ । यो संगै गोरखा जिल्लामा कोरोना संक्रमितको सख्या ११० पुगेको छ ।