गोरखा २१, साउन । देशभर कोरोना संक्रमितको सख्या बढ्दै जान थालेपछि गोरखा जिल्ला प्रवेश गर्ने मुख्य नाकाहरुमा पुनः चेकजाँचमा कडाई गरिने भएको छ । कोरोना भाइरस कोभिड १९ रोकथाम र व्यवस्थापनका लागि गठित गोरखा जिल्ला स्तरीय कमाण्ड पोष्टको आज बसेकोे बैठकले मझुवा देउराली, आरुघाट, बेनिघाट, तुरतुरे र नयाँपुल लगायतका नाकामा चेकजाँच कडा पार्ने निर्णय गरेको हो ।
त्यस्तै यस अघि मुख्य नाकाहरुमा सञ्चालनमा भएका हेल्थ डेक्सलाई समेत निरन्तरता दिने निर्णय बैठकले गरेको जिल्ला प्रसासन कार्यालय गोरखाका प्रमुख प्रशासकिय अधिकृत हर्कबहादुर रोकाले जानकारी दिनुभयो । बैठकले बिभिन्न नाका भएर पैदल तथा सवारी साधनमा गोरखा जिल्ला आउने तथा जाने यात्रुहरुको बिबरण अत्यावधिक राख्ने र अनाबश्यक आवतजातवलाई पूर्ण रुपमा बन्द गर्ने निर्णय समेत भएको उहाँले जानकारी दिनुभयो ।
त्यस्तै जिल्ला भित्रका बिभिन्न स्थानमा रहेका सरकारी तथा नीजि बिधालय, क्याम्पसहरुमा शैक्षिक गतिबिधि सञ्चालन भइरहेको भए तत्काल त्यस्ता गतिबिधि पूर्ण रुपमा बन्द गर्ने, व्युटी पार्लर, सैलुन, जिमखाना लगायत समेत सञ्चालनमा रोक लगाउने बैठकले निर्णय गरेको छ । कमाण्डपोष्टको आजको बैठकमा यस अघि गोरखा क्याम्पसमा निर्माण गरिएको ७६ बेड क्षमताको आइसोलेसन निर्माणका लागि भएको खर्च बिबरण समेत पेश भएको जनाइएको छ ।