गोरखा ११, साउन – गोरखामा सर्पको टोकाईबाट एकजनाको मृत्यु भएको छ । जिल्लाको बारपाक सुलिकोट गाउँपालिका– ५ लाकुरीबोटमा गएराती करिब साढे १० बजेको समयमा सर्पको टोकाईबाट स्थानीयबासी अन्दाजी ५५ बर्षका सेते परियारको मृत्यु भएको वडाध्यक्ष गोपालबहादुर गुरुङले जानकारी दिनुभयो । ओछ्यानमा सुत्नै लाग्दा सिरानी मुनी रहेको जालमा लुकेर बसेको सर्पले टोकेर परियारको मृत्यु भएको उहाँले बताउनुभयो ।
‘झुल टाँगेर राखिएको ओछ्यानमा सिरानी मुनी रहेको जालमा सर्प रहेछ, सिरानी पल्टाउन लाग्दा एक्कासी हातको औलामा उहाँलाई २ पटक टोकेको रहेछ, उहाँले भन्नुभयो, सर्पले टोके लगत्तै नजिकै उपचारका लागि पु¥याएको भएपनि उपचार हुन सकेन् ।’ स्थानीय मेडिकलमा उपचार गरि घर फर्कदै गर्दा राती २ बजेको घाइते परियारको मृत्यु भएको वडाध्यक्ष गुरुङले बताउनुभयो ।
‘स्थानीय मेडिकलमा दुखाई कम गर्ने इन्जेक्सन मात्र लगाएर टोकेको ठाउँमा घरेलु औषधी लगाउनु भएको रहेछ, उहाँले भन्नुभयो,‘छोराहरुले मेडिकलबाट घर ल्याउने क्रममा बाटोमा नै उहाँको मृत्यु भएको हो ।’ सर्पलाई भने तत्काल नै परिवारले लौरोले हिर्काएर मारेको वडाध्यक्ष गुरुङले बताउनुभयो ।
कुन जातीको सर्पले टोकेको हो भन्ने बारेमा पुष्टी नभएको पनि ४ घण्टा भित्रै बिरामीको मृत्यु भएकाले बिषालु सर्प भएको हुनसक्ने अनुमान गरिएको उहाँले बताउनुभयो ।