गोरखा १०, साउन । आन्तरिक पर्यटन प्रर्बद्धन गर्न निस्किएका गोरखाको सिरानचोक गाउँपालिकाका युवाहरुले सिरानडाँडादेखि नागपोखरी सम्मको पैदल मार्गको आज सरसफाई गरेका छन् । पदमार्ग क्षेत्रमा आउने जाने आन्तरिक तथा बाह्रय पर्यटकहरुबाट फालिएको प्लास्टिक तथा अन्य फोहोरजन्य बस्तुलाई संकलन गरि व्यवस्थापन गरिएको सरसफाई कार्यक्रममा सहभागी प्रताप ढकालले जानकारी दिनुभयो ।
हिन्दुधर्मालम्बीहरुको महत्वपूर्ण पर्व नागेपन्चमीको दिन नागपोखरी क्षेत्रमा आज मेला लाग्ने भएकाले मेला हेर्न तथा पुजापाठ गर्न पुग्ने दर्शनार्थीहरुले जथाभावी फोहोर फाल्ने गरेकाले जनचेतना प्रदानका लागि समेत सरसफाई कार्यक्रम गरिएको उहाँले बताउनुभयो ।
‘मेलाको अवसरमा त्यहाँ पुग्ने व्यक्तिहरुले जथाभावी प्लाटिक तथा प्लास्टिक जन्य फोहोर जथाभावी फ्याक्ने गरेकाले सुन्दर नागपोखरी क्षेत्रमा सौन्र्दय नै बिग्रने अबस्था आउछ, ढकालले भन्नुभयो, ‘दर्शनाथीहरुलाई आफुले लगेका फोहोर जन्य बस्तु आफैले व्यवस्थापन गर्नुपर्छ भन्ने चेतनाको बिकास पनि होस् र अहिले भएका फोहोरको पनि व्यवस्थापन गर्न सकियोस् भनेर युवाहरु मिलेर सरसफाई गरेका हौं ।’
युवाहरुले नागपोखरी क्षेत्रको प्रचारप्रसारका लागि समेत भ्रमण सहित पदमार्गको दायाँबायाँ क्षत्रेमा समेत सरसफाई गरेको उहाँले जानकारी दिनुभयो । जिल्लाको अजिरकोट गाउँपालिका वडा नम्बर २ को खरिबोटमा रहेको नागपोखरी मन्दिरमा हरेक बर्ष नागपन्चमीको दिन बिशेष मेला लाग्ने गरेको छ । समुन्द्र सतहबाट करिब ३ हजार २ सय ५० मिटरको उचाईमा रहेको नागपोखरी क्षेत्र धार्मिक हिसाबले मात्र नभई प्राकृतिक हिसावले पनि सुन्दर क्षेत्रको रुपमा लिईन्छ ।