Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

पहिराले पुर्यो बोर्लाङको चारसय फाँट खेतको कुलो


1.9K
Shares

पहिराले पुर्यो बोर्लाङको चारसय फाँट खेतको कुलो

गोरखा ७, साउन । गोरखाको भीमसेन थापा गाउँपालिका–८ बोर्लाङ पिपलटार स्थित चारसय फाँटको खेतको कुलो बाढी पहिरोे बगाएको छ । केहीदिनदेखि लगातार परेको अबिरल बर्षाका कारण खेतमा ल्याइएको कुलो बाढीले पूर्णरुपमा क्षतिग्रस्त बनाएको स्थानीयबासी रामचन्द्र श्रेष्ठले जानकारी दिनुभयो । बाढी र पहिरोले कुलो बगाएपछि किसानहरुलाई खेतमा पानी लाउन समस्या भएको छ ।

‘अहिले तत्कालका लागि त आकाशबाट पानी परिरहेको छ समस्या छैन, उहाँले भन्नुभयो, अब पानी पर्न छोडे लगत्तै धानखेतमा पानीको अभाव सुरु हुन्छ ।’ खुकरे खोलाबाट करिब १ किलोमिटर कच्ची कुलो निर्माण गरि पानी ल्याएर चार सय फाँटमा बर्षौदेखि किसानहरुले धानखेती गर्दै आएका छन् । करिब २ हजार मुरी धान उत्पादन हुने खेतको कुलो नै पहिरो बगाइदिएपछि किसानहरु चिन्तामा परेका छन् ।

चारसय फाँटमा ५० जनाभन्दा बढि किसानको धानखेती गर्दै आएका छन् । ‘सडकका कुनाबाट कुलो बनाएर पानी ल्याउदै आइएको थियो, श्रेष्ठले भन्नुभयो,‘अहिले सडक माथिबाट पहिरो खसेपछि कुलो पुरिएको छ, पानी सडकसडकमा बगेका कारण कच्ची सडक समेत बिग्रिएको छ ।’ कुलोमा कतै पहरा आएर पुरेको छ भने कतै सडकसंगै भत्काएर बगेको उहाँले बताउनुभयो ।

तत्काल कुलो मर्मत गर्न नसकेको भर्खरै रोपाई गरिएको धान उत्पादनमा असर पुग्ने भन्दै किसानहरु चिन्तामा परेको श्रेष्ठले जानकारी दिनुभयो । उहाँले तत्काल कुलो मर्मतका लागि सहयोग गरिदिन समेत स्थानीय सरकार र सरोकारवालाहरुलाई आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology