काठमाण्डौं ४, असार । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता नारायणकाजी श्रेष्ठले कालापानीबाट भारतीय सैनिक क्याम्प हटाउनुपर्ने बताउनुभएको छ ।
बिहिबार राष्ट्रियसभाको बैठकमा नक्सासम्बन्धी संविधान संशोधन विधेयकमाथिको दफावार छलफल भाग लिँदै नेता श्रेष्ठले नेपालको भूभागमा बसेको भारतको सैनिक, प्रहरी, सुरक्षाकर्मीहरु सबै फिर्ता जानुपर्ने बताउनुभयो ।
नेता श्रेष्ठले लिम्पियाधुरा क्षेत्रका विषयमा देखिएका समस्या समाधान गर्ने उपाय वार्ता र संवाद नै भएको भन्दै भारत वार्ताका बस्न तयार हुनुपर्ने धारणा राख्नुभयो ।
सत्तारुढ दल नेकपाका प्रवक्ता समेत रहनुभएका नेता श्रेष्ठले नेपालकै राजनीतिक दलहरुलाई पनि लिम्पियाधुराको मुल मुद्धालाई ओझेलमा पार्ने गरी अन्य विषयलाई अगाडि नल्याउन आग्रह गर्नुभयो ।