गोरखा २२, जेठ- सुरक्षित गर्भपतन सेवा दिदै आएका गोरखाका १५ वटा स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीलाई कोरोना भाइरस (कोभिड १९) को सम्भावित जोखिमबाट सुरक्षित राख्न स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरिएको छ । आइपास नेपालको सहयोगमा जिल्ला भित्रका बिभिन्न गाउँपालिकामा सञ्चालित स्वास्थ्य संस्थालाईहरुलाई जिल्ला समन्वय समिति मार्फत सहयोग प्रदान गरिएको हो ।
आईपास नेपालले उपलब्ध गराएको कोरोनाको सम्भावित जोखिमबाट बच्ने स्वास्थ्य सामग्री समन्वय समिति मार्फत बितरण गरिएको जिल्ला समन्यव समिति गोरखाका प्रबक्ता मानप्रसाद धितालले जानकारी दिनुभयो । उहाँले जिल्लाको पालुङटार नगरपालिका अन्र्तगत रहेका ३ वटा स्वास्थ्य केन्द्र, गण्डकी गाउँपालिका अन्र्तगत रहेका ३ वटा स्वास्थ्य केन्द्रहरुलाई उपलब्ध गराइएको बताउनुभयो ।
त्यस्तै चुमनुब्री गाँउपालिकाको १ स्वास्थ्य केन्द्र, धार्चे गाँउपालिका अन्र्तगत २ स्वास्थ्य केन्द्र, आरुघाट गाउँपालिका अन्र्तगत १ स्वास्थ्य केन्द्र, बारपाक सुलिकोट गाँउपालिका अन्र्तगत १ स्वास्थ्य केन्द्र, भिमसेनथापा गाँउपालिका अन्र्तगत स्वास्थ्य केन्द्र, अजिरकोट गाँउपालिका १ स्वास्थ्य केन्द्र, शहिदलखन गाँउपालिका अन्र्तगत १ स्वास्थ्य केन्द्र सहित १५ वटा स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको प्रबक्ता श्रेष्ठले जानकारी दिनुभयो ।
आइपासले उपलब्ध गराएका स्वास्थ्य सामग्रीहरुमा सर्जिकल के एन ९५ मास्क, स्यानिटाइजर, पञ्जा लगायत कोभिड १९ संक्रमणको जोखिमबाट सुरक्षित हुने खालका स्वास्थ्य सामग्रीका साथै प्रजनन स्वास्थ्य सम्बन्धी औषधीजन्य सामग्री समेत रहेको उहाँले बताउनुभयो । आइपास नेपालले जिल्ला अस्पताल गोरखालाई पनि पिपिई,एयर पर्फु एप्रोन, सर्जिकल गगल्र्स, के एन ९५ मास्क लगायत स्वास्थ्य सामग्री उपलब्ध गराएको थियो ।