गोरखा २१, जेठ । गोरखामा (बुधबार) आजदेखि लकडाउन केही खुकुलो हुने भएको छ । कोरोना भाइरस (कोभिड १९ ) को रोकथाम, नियन्त्रण र व्यवस्थापनका लागि गठित जिल्ला स्तरीय कमाण्ड पोस्टको आज बसेको बैठकले बैक तथा बित्तिय संस्थाहरुलाई थप समय खोल्न दिने निर्णय गरेको जिल्ला प्रसासन कार्यालय गोरखाका प्रशासकिय अधिकृत हर्कबहादुर रोकाले जानकारी दिनुभयो ।
बैठकले भोलिदेखि राष्ट्रिय बाणिज्य बैंकको हप्ताको ६ दिन नै सञ्चालन गर्न दिने निर्णय गरेको उहाँले बताउनुभयो । अन्य बैंकको हकमा भने अबदेखि हप्ताको प्रत्येक आइतवार, मंगलबार र विहिवार बिहान १० बजेदेखि ४ बजेसम्म खोल्न दिने निर्णय गरेको उहाँले बताउनुभयो । तर सेवाग्राहीलाई सेवा प्रवाह गर्दा भने स्थानीय तह र सुरक्षा निकायसंग समन्वय गरी टोकन प्रणाली, सुरक्षा एवं स्वास्थ्यको मापदण्ड तथा सामाजिक दुरी कायम गरी गर्ने गरि व्यवस्था मिलाउनु पर्ने निर्णय बैठकले गरेको छ ।
त्यस्तै बैंकले आफ्ना ग्राहकसंग अग्रिम समन्वय गरि सेवा प्रवाह गर्ने समयको जानकारी गराउन समेत बैठकले निर्देशन दिएको उहाँले बताउनुभयो । बैठकले भारत लगायत बिदेशबाट आई क्वारेन्टाइनमा ७ दिन भन्दा बढि समय बसी सकेका व्यक्तिहरुको तत्काल सम्बन्धित गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख माफर्त स्वास्थ्य कार्यालयसंग समन्वय गरि पिसिआर परीक्षणको व्यवस्था मिलाउन पनि सम्बन्धित गाउँपालिकालाई आग्रह गरेको छ । त्यस्तै अत्याबश्यक सामग्रीहरु ढुवानीका लागि समेत नयाँ मापदण्ड लागू गर्ने निर्णय गरेको उहाँले बताउनुभयो ।
बैठकले खाद्यान्न, ग्यास, इन्धन, तरकारी, पशुपन्छीका दानाको ढुवानी अबदेखि बिहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म गर्न पाउने गरि खुल्ला गरेको रोकाले जानकारी दिनुभयो । तरकारी ढुवानी भने एक जिल्लाबाट अर्को जिल्ला ढुवानी गर्न नपाइने निर्णय पनि बैठकले गरेको छ । त्यस्तै कुखुराको चल्ला, माछामासु, अत्याबश्यक औषधी ढुवानी भने २४ सै घण्टा गर्न पाउने निर्णय भएको उहाँको भनाई छ । त्यस्ता सामग्री ढुवानी गर्दा सवारी साधनको अगाड अनिबार्य ढुवानी विवरण सहितको तुल व्यानर भने पहिले जस्तै अनिर्वाय राख्नुपर्ने निर्णय भएको रोकाले जानकारी दिनुभयो ।