गोरखा १६, जेठ । गोरखामा स्थानीय तहको सिफारिसका आधारमा मात्र मल बिक्रि बितरण गर्न पाइने भएको छ । कोरोना भाइरसको रोकथाम, नियन्त्रण र व्यवस्थापनको लागि गठित गोरखा जिल्ला स्तरीय कमाण्ड पोष्टको गएको आइतबार बैठकले यस्तो निर्णय गरेको जिल्ला प्रसासन कार्यालय गोरखाले जनाएको छ । जिल्लाका केही स्थानमा रासायनिक मलको बिक्री वितरणमा समस्या आइपर्दा समेत पालिका स्तरमा जानकारी नै नहुने स्थित रहेको भन्दै अब पालिकाको सिफारिसमा मात्र कारोबार गर्न पाइने निर्णय भएको हो ।
‘रसायनिक मल आपूर्ति तथा विक्रीवितरणमा संलग्न कृषि सहकारीहरुले सम्बन्धित वडाको नभई स्थानीय तहको सिफारिसको आधारमा मात्र कारोबार गर्न पाउनेछन् ।’ बैठकको निर्णयमा भनिएको छ । त्यस्तै मलको मूल्य निर्धारण समेत अब सम्बन्धित गाउँपालिकाले नै गर्ने व्यवस्था बैठकले गरेको प्रमुख प्रसासकिय अधिकृत हर्कबहादुर रोकाले जानकारी दिनुभयो ।
‘मल आपूर्ति र विक्री वितरणमा संलग्न सहकारीहरु समेतसंग छलफल गरी सम्बन्धित पालिकाले नै रसायनिक मलको प्रति वोरा र प्रति के।जि विक्री मूल्य कायम गर्ने र संभव भएसम्म खुद्रा विक्री नगर्ने खुद्रा विक्री गर्नु परेमा खरिदकर्ताको समूह निर्माण गर्न लगाई वोरा नै विक्री गर्ने व्यवस्था कायम गर्ने गराउने निर्णय बैठकले गरेको छ ।’ उहाँले भन्नुभयो ।
गोरखा जिल्लाको रसायनिक मलको मागलाई सम्बोधन गर्नका लागि आवश्यक सहजीकरण तथा कृषि ज्ञान केन्द्र गोरखाले सिफारिस गरेको परिमाण बराबरको मल सहज आपुर्तिको लागि कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडलाई आग्रह गर्ने निर्णय पनि बैठकले गरेको उहाँले जानकारी दिनुभयो ।