गोरखा ३०, बैशाख । गोरखाका ११ वटै स्थानीय तहहरुलाई कोरोना संक्रमणका बेला खरिद गरिएका अत्याबश्यक सामग्रीहरुको सम्पूर्ण बिबरण नियमित सार्वजनिक गर्न नागरिक साझा सवालले सुझाव दिएको छ । नागरिक साझा सवालका संयोजक स्थानेश्वर दुवाडी नेतृत्वको टोलीले जिल्ला भित्रका स्थानीय तहहरुलाई १५ बुदेँ ध्यानकर्षण पत्र बुझाउदै सार्वजानिक सेवा र श्रोत उपयोग बारे नागरिकले जानकारी गराउन स्थनीय सरकारको दायित्व हुने उल्लेख गरिएको छ ।
पत्रमा भनिएको छ ‘ स्थानीय सरकारले कोरोना नियन्त्रण र प्रतिकार्यको लागि यस अवधिमा थुप्रै स्वास्थ्य सामाग्री, सेवा तथा अन्य भौतिक सामाग्री खरिद गरिएका छन्, यस्ता अति आवस्यक बस्तु तथा सेवा खरिद सम्बन्धि सम्पूर्ण जानकारी स्थानीय सरकारले नियमित रुपमा सार्वजानिक गर्ने ब्यवस्था मिलाउन अनुरोध गर्दछौ ।’
ध्यानकर्षण पत्रमा बिश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को बिषम परिस्थितमिा सिमित श्रोत र साधनका बिच गोरखा जिल्लाका स्थानीय सरकारहरुले गरेका कार्यको उच्च प्रसंसा समेत गरिएको छ ।
त्यस्तै कोरोना भाइरसको नियन्त्रण तथा रोकथामका लागि स्थानीय सरकार एक्लैको प्रयास प्रयाप्त नभएको भन्दै अभियानमा नागरिक, नागरिक समाजका संघसंसस्था एवं निजि क्षेत्रको संलग्नता बढाउन समेत सुझाव दिइएको छ । पत्रमा स्थानीय स्तरमा निर्माण गरिएका क्वारेन्टाइन र आइसोलेसन केन्द्रलाई गुणस्तरीय, भरपर्दो र विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुकुल बनाउन पनि आग्रह गरिएको छ ।