एजेन्सी २९ बैशाख । आफ्ना पत्रकारहरुका लागि भिसा शर्त कडा बनाएकोमा चीनले अमेरिकालाई निर्णय सच्चाउन भनेको छ । अमेरिकाले तत्काल आफ्नो निर्णय नसच्याए जवाफी निर्णय गर्ने चेतावनी पनि दिएको छ । अमेरिकाले गत साता चिनियाँ पत्रकारहरुको आगमनका लागि नयाँ शर्त लागु गरेको थियो ।
चीनले विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजिआन मार्फत अमेरिकी नयाँ निर्णयको विरोध गरेको हो । आफूहरुले यस्तो निर्णय अस्विकार गर्ने चीनले जनाएको छ । यस्तो निर्णयलाई चीनले आफ्ना मिडियामाथि दबाबको रुपमा व्याख्या गरेको छ ।
‘हामी यसको विरुद्ध कडा विरोध र असन्तुष्टि व्यक्त गर्छौँ, अमेरिकाले तुरुन्तै यो गल्ती सच्याओस् भन्ने हामी चाहन्छौँ । अन्यथा चीनसँग जवाफी उपाय लिने भन्दा अन्य विकल्प छैन,” झाओले भन्नुभएको छ ।