काठमाण्डौं २७, बैशाख । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले भारतले अनधिकृत रूपमा नेपाली भूमिमा सडक बनाएको विषयमा सरकारले तत्काल कदम चाल्नुपर्ने माग गर्नुभएको छ ।
प्रवक्ता श्रेष्ठले कोरोनाविरुद्ध लडिरहेको मौका छोपेर भारतले अतिक्रमण गरेकाले सरकारले समस्या समाधानका लागि तत्काल कदम चाल्नुपर्ने सामाजिक सञ्जाल ट्विटरमार्फत सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।
‘भारतले अनधिकृतरुपमा कब्जा गरेको र आफैले समेत विवादित भनी स्वीकार गरेको पश्चिम सीमा क्षेत्रको नेपाली भूमिमा सडक बनाइ हिजो उद्घाटन गरेको कार्यप्रति घोर आपत्ति प्रकट गर्दै भत्सर्ना गर्दछु’ आज बिहान श्रेष्टले गर्नुभएको ट्वीटमा भनिएको छ । भारतले नेपाली भूमि कालापानी, लिपुलेक हुँदै चीनको तिब्बतस्थित धार्मिकस्थल मानसरोवर जाने सडकमार्ग शुक्रबारबाट सञ्चालनमा ल्याएको हो ।