गोरखा २४, बैशाख । गोरखाको शहीद लखन गाउँपालिका ७ मा पनि दादुराको संक्रमण देखिएको छ । तीन दिनअघि पठाइएको दादुरा परीक्षणको रिर्पोट पोजेटिभ आएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख वीरेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । गाउँपालिकाको वसन्ते गाउँ स्थित महिला स्वास्थ्य स्वयंसेविका सीता श्रेष्ठको ९ महिनाकी नातिनीलाई दादुरा भएको पुष्टि भएको श्रेष्ठले जानकारी दिनुभयो ।
गाउँपालिकामा दादुरा रुबेलाको खोप कार्यक्रम लकडाउनका कारण रोकिएकोमा अब आकस्मिक रुपमा खोप अभियान सञ्चालन गर्ने तयारी रहेको उहाँको भनाई छ । यसअघि गण्डकी गाउँपालिकाको वडा नं. ६ क्षेत्रीखोला र हुइलिङमा आठ जनामा दादुरा भएको पुष्टि भएको थियो । गोरखाको गण्डकी गाउँपालिका संग जोडिएको धादिङको बेनिघाट रोराङ गाउँपालिकामा दादुरा रुवेलाको संक्रमण फैलिएसंगै गण्डकी गाउँपालिकामा पनि संक्रमणको पुष्टी भएको थियो ।
स्वास्थ्य कार्यालय गोरखाले दादुरा रुवेलाको संक्रमण फैलिन थालेपछि तत्काल खोप अभियान सञ्चालनको तयारी गरेको छ । जिल्ला सुरक्षा समितिको हिजो बसेको बैठकले पनि हिजो सामाजिक दुरी कायम गरी बाँकी रहेका सवै स्थानीय तहहरमा खोप अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो ।