काठमाडौं १५, बैशाख सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद चर्किदै गएको छ । पार्टी भित्र भएका बिभिन्न खेमालाई आफ्नो पक्षमा पार्न सोमबार दिनभर नेताहरु एकपक्षिय तथा दुई पक्षिय बैठकमा व्यस्त रहे । यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ नेता माधव नेपाललाई फकाउन गरेको प्रयास सोमबार सफल हुन नसकेको बताइएको छ ।
सोमबार ओली पक्ष र नेपाल पक्षका नेताहरुबीच भएको छलफलमा सहमति जुट्न नसकेको बताइएको छ । दुई समूहको छलफलबाट निकास निस्कने अपेक्षा गरिएको भएपनि नेपाल समूहले राखेका प्रस्ताव ओली समूहले अस्वीकार गरेका छन् । योसँगै नेपाल समूहलाई फकाउने बालुवाटारको प्रयास असफल भएको छ ।
सहभागी एक नेताले दिएको जानकारी अनुसार नेपाल समूहले पार्टीभित्र एक व्यक्ति एक पद हुनुपर्ने प्रस्ताव राखेको थियो । तर ओली समूहले सो प्रस्ताव अस्वीकार गरेपछि सहमति जुट्न नसकेको बताइएको छ । दुवै समुहको छलफलमा मंगलबार सचिवालय बैठक बस्ने सहमति भने भएको छ । सचिवालयको बैठकपछि स्थायी समिति बैठक बस्ने नबस्ने बारे निर्णय हुने बताइएको छ ।
सोमबार नै ओली र नेपाल पक्षका नेताहरुबीच छलफल भैरहदा प्रचण्ड निवास खुमालटारमा प्रचण्डसहित झलनाथ खनाल र वामदेव गौतमले छलफल गरेका थिए ।