गोरखा १३, बैशाख । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गण्डकी प्रदेश कोरोनामुक्त ‘ग्रिन जोन’ भएको घोषणा गर्नुभएको छ । कोरोना भाइरसबाट संक्रमित प्रदेशका २ जना बिरामी उपचारमा निको भएर घर फर्केपछि मुख्यमन्त्री गुरूङले प्रदेशलाई कोरोनामुक्त घोषणा गर्नुभएको हो ।
‘बागलुङ रेडजोन हो भन्ने थियो, बागलुङमा पनि २ वटाभन्दा बढी नदेखिएपछि त्यो पनि ग्रिन जिल्ला हो,’ आज पोखराका पत्रकारसँगको कुराकानीमा उहाँले भन्नुभयो, ‘ गण्डकीका ११ वटै जिल्ला ग्रिन जिल्ला ८५ वटै पालिकाहरू ग्रिन छन् ।’
विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार २ पटक नेगेटिभ रिपोर्ट आएपछि डिस्चार्ज गर्ने भनेकाले शुक्रवार बागलुङमा उपचारमा रहेकी १९ वर्षकी युवतीको डिस्चार्ज गरिएको र सोसँगै प्रदेश आजको दिनमा कोरोनाबाट मुक्त भएको उहाँले दावी गर्नुभयो । संक्रमण नियन्त्रण नहुँदासम्म नेपालमा पनि लकडाउन लम्ब्याउनुपर्ने उहाँको धारणा छ । मुख्यमन्त्री गुरुङले लकडाउनको मोडल परिवर्तन गर्दै निर्माण र उत्पादनका क्षेत्र खोल्नुपर्ने तर्क गर्नुभयो ।
‘भारतमा संक्रमण नघट्दासम्म लकडाउन खोल्न हतार गर्नुहुन्न, यसमा लापरवाही गर्नु हुन्न भन्ने पक्षमा छु,’ उहाँले भन्नुभयो । गण्डकीमा हालसम्मको पीसीआर टेस्टमा ५६४ मध्ये ५४० जनाको नेगेटिभ आएको छ । २ जनाको पोजेटिभ आएकोमा उनीहरू निको भईसकेका छन्। अरु २२ जनाको रिपोर्ट बाँकी रहेको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ । गण्डकीमा झण्डै ५ हजार जनाको कोरोनाको द्रुत परीक्षण गरिएको छ ।