काठमाडौँ ११, बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी बिभाजन सम्बन्धी अध्यादेश फिर्ता लिने तयारी गर्नुभएको छ । मधेस केन्द्रित पार्टी फुटाएर संसदमा सरकारको पक्षमा दुई तिहाई समर्थन बनाउने आशयका साथ ल्याइएको अध्यादेश प्रत्युत्पादक सावित भएपछि प्रधानमन्त्री केपी ओली त्यसलाई फिर्ता लिने तयारीमा गर्नुभएको स्रोतले बताएको छ ।
राजपा र समाजवादी पार्टी फुट्नुको साटो एक भइ सवल प्रतिपक्षको भूमिका खेल्ने निर्णय एकातिर, अर्कोतिर नेकपा पार्टी भित्रै प्रधानमन्त्री ओली र राष्ट्रपति विद्यादेवी भण्डारी विरुद्ध गुटबन्दी बढ्न थालेपछि प्रधानमन्त्री ओली यो निर्णयमा पुगेको बताइएको छ । रातारात दुई मधेसवादी पार्टीको एकता र पार्टी भित्र आफू विरुद्ध दबाब बढेपछि आत्तिएका ओली आज नयाँ निष्कर्षमा पुग्नुभएको हो ।
पार्टीका अर्का अध्यक्ष प्रचण्डसँगै नेताहरु माधव नेपाल, झलनाथ खनालसहितले अध्यादेश फिर्ता लिन दबाब दिएका थिए । अध्यादेश फिर्ता लिने सम्बन्धमा आज बिहानै प्रधानमन्त्री ओली र प्रचण्डबिच छलफल भएको थियो । बालुवाटारमा भएको छलफलमा प्रचण्डले शुक्रबार बिहान ९ बजे स्थायी कमिटि बैठक बोलाउनै पर्ने अडान लिएपछि ओलीले अध्यादेश फिर्ता लिने विल्कप रोज्नुभएको हो ।
राष्ट्रपतिको अनुमोदनपछि रापत्रमा जारी भइसकेको अध्यादेशले कानूनको रुप लिने हुँदा त्यसलाई प्रक्रिया संवत तरिकाले फिर्ता लिनु पर्ने हुनाले आलोचनाको भुंग्रोमा परेकी राष्ट्रपति विद्यादेवी भण्डारीले पनि कानूनविदसँग छलफल सुरु गर्नुभएको छ ।