गोरखा ९ बैशाख । गोरखा जिल्लामा रहेका सबै स्वास्थ्य संस्थाहरुमा ओपिडि बाहेकका सवै सेवा सुचारु गर्ने निर्णय गरेको छ । जिल्ला सुरक्षा समिति एवंम कोरोना भाइरस कोभिड १९ रोकथाम नियन्त्रण तथा व्यवस्थापन समितिकको आज बसेको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले जिल्ला भित्रका निजी तथा सामुदायिक क्षेत्रबाट सञ्चालित अस्पताल, स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकी लगायतमा आकस्मिक तथा गम्भिर प्रकारका सेवाहरु, अत्याबश्यक तथा आधारभूत सेवाहरु नियमित रुपमा संञ्चालन गर्ने व्यवस्था मिलाउने निर्णय गरेको जनाएको छ ।
त्यस्तै स्वास्थ्य सेवा प्रवाह गर्दा हुनसक्ने भिडलाई नियन्त्रण गर्नका लागि एक सेवाग्राहीदेखि अर्को सेवाग्राही बिचको दुरी कम्तीमा १.५ मिटर कायम गर्ने निर्णय बैठकले गरेको छ । त्यस्तै अस्पतालबाट सेवा प्रवाह गर्दा बाधा नपर्ने गरी स्वास्थ्यकर्मीहरुको रोष्टर बनाइन गर्ने बैठकले निर्णय गरेको जिल्ला प्रसासन कार्यालय गोरखाले जनाएको छ ।
बैठकले जिल्ला भित्र स्वास्थ्यकर्मीहरुलाई अस्पताल जान आउनका लागि सहज बाताबरण तयार गर्ने, मेडिकल तथा आर्युबेदिक औषधी पसलहरु निममित खोल्न व्यवस्था मिलाउने, बिरामीलाई अस्पताल लान तथा ल्याउन जिल्लामा उपलब्ध एम्बुलेन्सलाई तयारी अबस्थामा राख्ने निर्णय भएको छ ।
त्यस्तै आजको बैठकले जिल्ला भित्र बिभिन्न ठाउँमा लकडाउनको बाहानामा अझैपनि सडक छेकबार नखुलेको गुनासो आएकाले तत्काल हटाउन स्थानीय तहहरुसंग समन्वय गरी सडक छेकबार खुलाउने निर्णय गरेको जनाइएको छ । जिल्ला भित्र सामाजिक सद्भाव कायम गर्नका लागि जिल्ला भित्रका धार्मिक एंव सामाजिक अगुवाहरु निरन्तर समन्यव गरी काम स्थानीय तहहरु संग समन्वय गर्ने निर्णय पनि बैठकले गरेको जनाइएको छ ।