गोरखा ८, बैशाख । गोरखा नगरपालिकाले बजारमा अनियमितता बढेको गुनासो आउनथालेपछि बजार अनुगमन गरेको छ । लकडाउनका मौका छोपी बजारमा दैनिक उपभोग्य बस्तुको मुल्य बृद्धि भएको गुनासो बढेपछि आज बजार अनुगमन गरेको नगरपालिकाकी उपप्रमुख बिनाकुमारी श्रेष्ठले जानकारी दिनुभयो ।
अनुगमन टोलीले नगरक्षेत्र भित्रका तरकारी पसल, मसला पसल र खाद्यान्य पसलको अनुगमन गरेको उहाँले बताउनुभयो । अनुगमनका क्रममा घिरौंला, काक्रो गोडभेडा, गाजर, कागती लगायतका कुहिन लागेका तरकारीहरु बिक्रिका लागि राखिएको अबस्थामा फेला परेको नगरपालिकाका प्रशासकीय अधिकृत चेतप्रसाद अम्गाईले जानकारी दिनुभयो । ‘
आजएक दर्जन खाद्यन्न, मसला र तरकारीको पसल अनुगमन गरिएको हो, उहाँले भन्नुभयो, ‘ त्यसमध्ये बिसौनी मोडमा कुहिएको तरकारी बिक्रिका लागि राखिएको अबस्थामा फेला परेपछि त्यसलाई तत्काल नष्ट गर्न हामीलेनिर्देशन दिएका छौ ।’ । अम्गाईले सडेगलेका तरकारी बिक्रि नगर्न व्यवसायीहरुलाई निर्देशन दिइएको समेत जानकारी दिनुभयो ।
त्यस्तै आर्युवेदिक चोक नजिकैको खान्चोक किराना पसलमा पापड, बिस्कुट, गुलकोज लगायतका विभिन्न खाद्यन्न सामाग्रीको म्याद नाघेको फेला परेको छ । अनुगमनका क्रममा गोरखा बजारमा लकडाउनपछि मसिनो चामलमा प्रतिबोरा ७५ र दालमा १०० रुपैयाँ मुल्यवृद्धि भएको पाइएको उहाँले बताउनुभयो । ‘
उद्योगबाट नै उक्त मूल्य बढाइएकाले यहाँ पनि बढाउनु परेको व्यापारीहरुले बताएका छन, अम्गाईले भन्नुभयो । नगरपालिकाले मसला र तरकारी पसल, दिनभर सञ्चालन भएको पाइएकाले निश्चित समयमा मात्र खोल्न समेत निर्देशन दिएको उहाँको भनाई छ । नगरपालिकाले सदमुकामको नयाँ बजार देखि आयुर्वेदिक चोकसम्मका किराना र तरकारी पसलको अनुगमन गरेको हो ।