एजेन्सी ३, बैशाख– अमेरिकी राष्ट्रपती ड्रोनाल्ड ट्रम्पले बिश्वस्वास्थ्य संगठन (डब्लूएचओ) लाई प्रदान गर्दै आएको आर्थिक साहायता कटौती गरेपछि संयुक्त राष्ट्रसंघले त्यसको आलोचना गरेको छ । संयुक्त राष्ट्रसंघले आर्थिक साहायता कटौती गर्ने अमेरिकाको निर्णयलाई यो स्रोत घटाउने समय नभएको प्रतिक्रिया दिएको हो ।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले एक विज्ञप्ति जारी गर्दै भन्नुभएको छ, ‘कोरोना भाइरसविरुद्धको लडाइँमा रहेका विश्व स्वास्थ्य संगठनको सञ्चालन अथवा अन्य कुनै मानवीय सहायता संस्थाहरुका लागि आवश्यक स्रोत घटाउने समय यो होइन । अहिले सम्पूर्ण अन्तर्राष्ट्रिय समुदाय एकबद्ध भएर कोरोना भाइरसको संक्रमण नियन्त्रणको लडाइँमा सकारात्मक परीणामका अघि बढ्ने समय हो ।
विश्व स्वास्थ्य संगठनका हजारौं मानिसहरु कोरोनाविरुद्धको लडाइँको अग्रपंक्तिमा रहेको र मानव जीवन बचाउने अभियानमा होमिएको गुटेरेसले बताउनुभयो। उहाँले भन्नुभयो, ‘कोभिड(१९ विरुद्धको युद्धमा अहिले विश्व निकै महत्वपूर्ण संघर्ष गरिरहेको छ । त्यसकारण विश्व स्वास्थ्य संठनलाई सहयोग गर्नैपर्छ ।
उहाँले हाम्रो जीवनकालको अकल्पनीय महामारी भएकोले यसलाई परास्त गर्नका लागि निकै ठूलो संघर्ष गर्नुपर्ने बताउनु भएको छ । विज्ञप्तिमा भनिएको छ, ूकुनै तथ्य फरक प्रसंगमा फरक मूल्यांकन भएका हुन सक्छन् । हामी एकपटक फेरि महामारी कसरी सुरु भयो र एकाएक कसरी विश्वभर फैलियो भनेर हेर्ने नै छौं । यस संकटबाट आगामी दिनमा हुने यस्तै किसिमका संकटमा कसरी लड्ने भनेर हामीले पाठ सिक्नेछौं । त्यो आगामी दिनमा हुँदै जाँला । तर, अहिले त्यो समय होइन ।ू
अमेरिकी राष्ट्रपति ट्रम्पले ह्वाइट हाउसमा मंगलबारको पत्रकार सम्मेलनका क्रममा विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) लाई दिँदै आएको आर्थिक सहयोग रोक्का गर्न आफ्नो प्रशासनलाई निर्देशन दिएको बताउनु भएको थियो । डब्लूएचओलाई सबैभन्दा बढी सहयोग गर्ने राष्ट्र अमेरिका हो । गत वर्ष अमेरिकाले डब्लुएचओलाई ४०० मिलियन अमेरिकी डलर सहयोग गरेको थियो ।
यो डब्लुएचओको कुल बजेटको करिब १५ प्रतिशत हो । विश्वव्यापी महामारी कोरोना भाइरसको संक्रमण नियन्त्रणको काममा डब्लूएचओ असफल भएको आरोप लगाउँदै अमेरिकाले कोरोना भाइरस चीनमा देखिएपछि त्यसको ढाकछोप गरेको आरोप लगाउनु भएको थियो ।
यसअघि पनि राष्ट्रपति ट्रम्पले कोरोना भाइरसको संक्रमणलाई लिएर डब्लूएचओले चीनको पक्षमा वकालत गरेको आरोप लगाएका थिए । त्यसको प्रतिक्रिया स्वरुप संयुक्त राष्ट्रसंघका प्रमुख एन्टोनियो गुटेरेसले कोरोना भाइरसको महामारीलाई राजनीतीकरण नगर्न आग्रह गरेका थिए ।