गोरखा ३०, चैत । तनहुँको आँबुखैरेनी गाउँपालिका ३ चिसापानी टोलमा विपन्न परिवारका लागि वितरण गरिएको कोरोना राहतको सामाग्री गुणस्तरहीन भेटिएको आशंका गरिएको छ । गाउँपालिकाले वितरण गरेको राहत सामाग्री गुणस्तरहीन भेटिएको आशंका भएपछि परिक्षणका लागि नमुना संकलन गरेको इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रमुख बुद्धि प्रसाद सुवेदीले जानकारी दिनुभयो । यस्तै संकलित नमुनाको गुरणस्तर परिक्षणका लागि जिल्ला प्रशासन कार्यालय तनहुँ पठाईने उहाँले बताउनुभयो ।
यसैगरी गाउँपालिकाले वितरण गरेको राहत सामाग्रीको गुणस्तरीयता बारे जन गुनासो आएपछि संकलन गरिएको नमुनाको परिक्षण गरिने र गुणस्तरहीन पाईए छानबिन गरि दोषीलाई कारवाही गर्न सम्बन्धित निकायमा पहल गरिने आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष गिर बहादुर थापाले बताउनुभयो। गुणस्तर परिक्षणका लागि थप दुई ठाउँबाट समेत नमुना संकलन गरिएको अध्यक्ष थापाले बताउनु भयो।
त्यस्तै आशंका गरिएको सामाग्रीको परीक्षण र निष्पक्ष छानबिन भै दोषी जो भएपनि कारवाहीको दायरा ल्याउनु पर्ने वडा नं. ३ का वडाध्यक्ष पुर्ण बहादुर आलेले बताउनुभयो । तनहुँ उद्योग वाणिज्य संघ आँबुखैरेनी ईकाइका सभापति कृष्णमान तामाङले भने स्थानीय सरकारले सहजिकरणका लागि आग्रह गरेपछि आफुहरुले सहजिकरण गरिदिएको बताउदै निष्पक्ष छानबिन गर्नुपर्ने र दोषी देखिए कारवाही गर्नुपर्ने बताउनुभयो ।