गोरखा ३०, चैत । जिल्ला प्रहरी कार्यालय गोरखाले लकडाउनको उल्लंघन गर्नेहरुलाई आइतबारदेखि कोरोना सम्बन्धी अभिमुखीकरण कक्षामा राखेर सम्झाउन सुरु गरेको छ । लकडाउनका बेला घर बाहिर ननिस्कन तथा हिडडुल नगर्न सरकारले आग्रह गरेपनि बिना काम जथाभावी निस्कने तथा हिडडुल गर्नेहरुलाई नियन्त्रणमा लिएर कोरोना कक्षामा सहभागी गराउन थालिएको गोरखाका प्रहरी प्रमुख एसपी ओमप्रसाद अधिकारीले जानकारी दिनुभयो ।
‘प्रहरी कार्यालय भित्रै सामाजिक दुरी कायम हुनेगरी घेरा तयार पारिएको छ, उहाँले भन्नुभयो, त्यही घेरामा राखेर उनिहरुलाई कोरोना सम्बन्धि जानकारी दिन सुरु गरिएको छ ।’ एसपी अधिकारीले मादक पदार्थ सेवन गरी सवारी चलाउने चालकहरुलाई जसरी नै लकडाउन उल्लंघन गर्नेहरुलाई पनि गल्ति महसुस गराउने गरी कक्षामा सहभागी गराउन थालेको बताउनुभयो ।
‘जथाभावी हिडडुल गर्दा आफुमात्र नभएर परिवार र समाज पनि कोरोनाबाट असुरिक्षत हुन्छ भन्ने जानकारी दिनु हाम्रो उद्देस्य हो ।’ एसपी अधिकारीले भन्नुभयो । यसअघि प्रहरीले लकडाउन उल्लंघन गर्नेहरुलाई सडकमै सम्झाएर छोडेने गरेको थियो ।