धादिङ २५, चैत । धादिङको बेनिघाट रोराङ गाउँपालिका– ६ स्थित चेपाङबस्तीहरुमा फैलिएको दादुरा रोगबाट दुई बालबालिकाको मृत्यु भएको छ । डेढ महिनादेखि फैलिएको दादुराबाट वडा नम्बर ६ की २९ महिने बालिका अनिसा चेपाङ र वडा नं ४ का आठ महिने शिशु सुशान्त चेपाङ रहेको गाउँपालिकाका स्वास्थ्य प्रमुख शंकरबाबु दुवाडीले जानकारी दिनुभयो ।
गाउँमा अधिकांश बालबालिका दादुराबाट पीडित रहेको बताइएको छ । दादुराको महामारी फैलीएपछि बेनिघाट–रोराङ गाउँपालिकाले स्वास्थ्य कार्यालय धादिङलाई महामारी नियन्त्रणका लागि आग्रह गरेको छ ।
दादुरा, रुवेलाको खोप अभियान सुरु भएकै बेला बेनिघाट–रोराङ गाउँपालिकामा पर्ने बुमराङ, रोतेश, सोलडाँडा, सार्लिङलगायतका चेपाङ बस्तीमा महामारी फैलिएको हो । ६ महिनादेखि १५ बर्ष उमेर समूहका ५० भन्दा बढी बालबालिकामा दादुरा देखिएको छ । अहिलेसम्म एक सय ५० भन्दा बढी बिरामी परेका छन ।