गोरखा २४, चैत – गोरखाको सिरानचोक गाउँपालिका– ७ मा बिश्वभर फैलदै गएको कोरोना भाइरस (कोभिड १९) को सम्भावित संक्रमणको न्युनिकरणका लागि गाउँमा आएका पाहुनालाई समेत स–सम्मान आफ्नै घर फर्काउन थालिएको छ । कोरोना नियन्त्रण तथा रोकथामका लागि गठित स्थानीय प्रतिकार्य समितिले गाउँमा आएका नयाँ पाहुनालाई आएकै दिन घर फर्काउने गरेको हो ।
प्रतिकार्य समितिले आज बिहान लम्जुङको बिचौरबाट पैदल हिड्दै हजुरबुबा कृष्णबहादुर नेपालीको घर आएका उनका नातिलाई घर बाहिरै स–सम्मान खाना खुवाएर फकाईएको वडाध्यक्ष सुरज ढकालले जानकारी दिनुभयो । ‘कोरोना भाइरसको सम्भावित जोखिम न्यनिकरणका लागि गठित प्रतिकार्य समिति २४ सै घण्टा सर्तक अबस्थामा रहन्छ, उहाँले भन्नुभयो, ‘गाउँमा नयाँ मान्छे भित्रिएको जानकारी पाउने बित्तिकै समितिको बैठक बसेर आबश्यक निणर्य गर्छ । ’
समितिले गाउँमा आएका पाहुनालाई कि १४ दिन क्वारेन्टाइनमा राख्ने वा बस्न नचाहे खाना खुवाएर स–सन्मान फिर्ता पठाउने गरेको वडाध्यक्ष ढकालले बताउनुभयो । गाउँपालिकाले पालिका भित्र कोरोना भाइरसको सम्भावित संक्रमण फैलन नदिन सचेतता अपनाउन भन्दै १ सय ४२ वटा टोल प्रतिकार्य समिति गठन गरेको गाउँपालिका अध्यक्ष राजु गुरुङले जानकारी दिनुभयो ।
‘प्रतिकार्य समितिले गाउँ भित्रका लागि अति आबश्यक बाहेक गाउँ बाहिर पनि जान दिदैन र गाउँ बाहिरकालाई गाउँमा आउन पनि दिदैन ।’ उहाँले भन्नुभयो । साथै प्रतिकार्य समितिले गाउँपालिकाका सवै टोलमा पुगेर कोरोना बिरुद्धको सचेतना प्रदान गर्ने काम पनि समितिले गर्दै आएको उहाँले बताउनुभयो । अध्यक्ष गुरुङका अनुसार गाउँपालिका भित्र प्रवेश गर्ने र बाहिर निस्कने सवैको रेकर्ड प्रतिकार्य समुहले समेत राख्ने गरेको छ ।
त्यस्तै पालिका भित्र सञ्चालित एम्बुलेन्स चालकको सुरक्षाका लागि व्यक्तिगत सुरक्षा सामग्री प्रदान गरिएको उहाँले बताउनुभयो । ‘बिदेशबाट आएकाहरु सवैलाई होम क्वारेन्टाइनमा राखिएको छ, अध्यक्ष गुरुङले भन्नुभयो,‘ क्वारेन्टाइनमा बसेकाहरुले नियम पालना गरे नगरेको समेत दिनहुँ अनुगमन हुन्छ ।’रासस