गोरखा २४, चैत । गोरखाको भीमसेन थापा गाउँपालिका–७ बोर्लाङमा ६ बेड क्षमताको सामुहिक क्वारेन्टाइन स्थापना भएको छ । वडा कार्यालयको पहलमा नारायणपुर स्थित श्री लक्ष्मी ज्वोती आधारभूत बिधालयमा क्वारेन्टाइन निर्माण गरिएको वडाध्यक्ष नारायण श्रेष्ठले जानकारी दिनुभयो ।
भारत लगायतका बिभिन्न देशबाट फर्किएका व्यक्तिहरुलाई सामुहिक रुपमा क्वारेन्टाइनमा राख्नुपर्ने अबस्थामा आउनसक्ने भएकाले पूर्वतयारी स्वरुप क्वारेन्टाइन निर्माण गरिएको उहाँले बताउनुभयो । ‘तत्कालका लागि ६ बेडको निर्माण भएको छ, आबश्यकताका आधारमा थप निर्माण गर्नुपर्ने अबस्था आएमा पनि वडा कार्यालय तयारी अबस्थामा छ ।’ वडाध्यक्ष श्रेष्ठले भन्नुभयो ।
विश्बभर फैलदै गएको कोरोना भाइरस .(कोभिड १९) को सम्भावित संक्रमणको जोखिम न्युनीकरण गर्न वडा भित्र यसअघि बिभिन्न देशबाट फर्किएका व्यक्तिहरुलाई होम क्वारेन्टाइनमा राख्दै आएकोे छ । अब फर्कनेहरुलाई भने आबश्यकताका आधारमा कम्तीमा १४ दिन वडा कार्यालयले निर्माण गरेको क्वारेन्टाइनमा राखिएको उहाँले बताउनुभयो ।
सरकारले बिदेशबाट फर्किएकाहरुलाई अनिबार्य क्वारेन्टाइनमा बस्नुपर्ने निर्णय गरेपनि कतिपय घर फर्किएर पनि आफुखुशी हिड्ने गरेको पाइएपछि जिल्ला प्रसासन कार्यालय गोरखाले स्थानीयतहरुलाई निगरानी बढाउन आग्रह गर्दै आएको छ । गोरखा जिल्ला स्तरीय कोभिड १९ रोकथाम, नियन्त्रण तथा व्यवस्थापन गर्न गठित समितिले पनि सरकारले गरेको निर्णय पालना नगर्नेहरुलाई संक्रमण ऐन बमोजिम कारवाही गर्ने निर्णय गरेको छ ।