गोरखा २३, चैत । गोरखाको बारपाक सलिकोट गाउँपालिकाले पहिलो पटक भिडियो कल मार्फत गाउँ कार्यपालिकाको बैठक सम्पन्न गरेको छ । कोरोना भाइरस (कोभिड १९) को सम्भावित जोखिमलाई ख्याल गर्दै भिडियो कलबाट गाउँ कार्यपालिकाको बैठक सम्पन्न गरेको गाउँपालिका अध्यक्ष बिष्णु भट्टले जानकारी दिनुभयो ।
बिश्वभर फैलिदै गएको कोभिड १९ को सम्भावित संक्रमणको न्युनीकरणका लागि छलफल गर्न गाउँ कार्यापालिकाको बैठक बस्नुपर्ने भएपनि सवै जना भेलाहुदा संक्रमणको जोखिम झनै बढि हुन सक्ने भएपछि प्रबिधिको प्रयोग गरी भिडियो गरेर बैठक सम्पन्न गरेको उहाँले बताउनुभयो ।
‘कोरोनाको संक्रमण न्युनीकरणका लागि सकेसम्म एकै ठाउँमा भेला नहुने, सामाजिक दुरी कायम गर्नुपर्ने अहिलेको पहिलो आबश्यकता हो, उहाँले भन्नुभयो, कार्यपालिकाको बैठकमा कोरोना नियन्त्रणका लागि महत्वपूर्ण छलफल गर्नु भएकाले प्रबिधिको प्रयोग मार्फत निणर्य गर्न सजिलो भयो ।’
बैठकले कोभिड १९ को नियन्त्रणका लागि देशभर गरिएको लकडाउनका कारण गाउँपालिका भित्र दैनिक ज्यालादारी मार्फत जिविकोपार्जन गर्दै आएका श्रमिक, बिपन्न व्यक्ति, असाहाय व्यक्तिहरुको तथ्याङक संकलन गर्ने लगायतका निर्णय गरेको अध्यक्ष भट्टले बताउनुभयो ।
त्यस्तै बिदेशबाट आउने व्यक्तिहरुको निगरानी गरि अनिबार्य क्वारेन्टाइनमा बस्ने व्यवस्था मिलाउने, स्वास्थ्यकर्मीहरुलाई बिशेष प्रोत्साहन भत्ता उपलब्ध गराउने निर्णय बैठकले गरेको उहाँले जानकारी दिनुभयो ।