गोरखा २२, चैत । गोरखा सदरमुकाममा कोराना भाइरस (कोभिड १९) को जोखिम न्युनीकरणका लागि बजारमा ग्राहकको भीड कम गर्न दुरी निर्धारण गरिएको छ । सदरमुकामको बजार क्षेत्रमा तरकारी किन्न पुग्ने ग्राहकका लागि उभिन दुरी कायम गरिएको हो ।
सदरमुकामको हरमटारीचोक, प्रतिक्षालयचोक, जिविसचोक र घ्याम्पेशाल बसपार्कका तरकारी तथा फलफूल पसल, खाद्यान्न पसल, औषधी पसलको अगाडि ग्राहक उभिनका लागि प्रहरीको सहयोगमा रेखाङ्कन गरिएको गोरखा नगरपालिकाका प्रशासकीय अधिकृत चेतप्रसाद अम्गाईले जानकारी दिनुभयो ।
‘एउटा ग्राहक र अर्को ग्राहकको बीचमा दुईदुई मिटरको दुरी कायम गरी गोलो घेरा लगाइएको छ’, उहाँले भन्नुभयो, ‘यो त एउटा नमूना हो । यही देखेर अरु ठाउँमा पनि ग्राहकले दुरी कायम गरुन् भन्ने हाम्रो उद्देश्य हो ।’ दैनिक उपभोग्य बस्तु किन्न आउँदा एकजनाबाट अर्कोमा सम्भावित कोरोना सर्ने जोखिम नहोओस् भनेर सचेतना कार्यक्रम समेत गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।