गोरखा १९, चैत – गोरखाको बारपाक सुलिकोट गाउँपालिका–७ अमलेमा भरुवा बन्दुक पड्किदा एक जना गम्भीर घाइते भएका छन् । मंगलबार करिब ४: ३० बजेको समयमा घर नजिकैको करेसाबारीमा बादँर आएपछि तर्साउन भरुवा बन्दुक लिएर निस्किएका ५८ बर्षका तुलबहादुर गुरुङ आफैले बोकेको बन्दुक पड्किएर गम्भीर घाइते भएका हुन् ।
घाइते गुरुङको अहिले काठमाण्डौं स्थित त्रिबि शिक्षण अस्पताल उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । घटनाको जानकारी पाए लगत्तै ध्याम्पेसाल प्रहरी चौकीबाट गएको प्रहरीको टोलीले घाइतेको उद्धार गरेको थियो । घाइतेलाई उपचारका लागी जिल्ला अस्पताल गोरखा पठाएको भएपनि त्यहाँ उपचार हुन नसकेपछि काठमाण्डौ पठाइएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख एसपी ओमप्रसाद अधिकारीले जानकारी दिनुभयो ।
प्रहरीले घटनास्थलबाट १ थान भरुवा बन्दुक बरामद गरेको जनाएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।