गोरखा १८, चैत । गोरखाको सिरानचोक गाउँपालिकाले एम्बुलेन्स चालकको सुरक्षाका लागि पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पिपिई) उपलब्ध गराएको छ । गाउँपालिकाले सम्भावित कोरोना भाइरसका बिरामीहरु बोक्दा एम्बुलेन्स चालकहरुलाई जोखिम हुनसक्ने भएकाले सुरक्षा सामाग्री उपलब्ध गराएको गाउँपालिका अध्यक्ष राजु गुरुङले जानकारी दिनुभयो ।
गाउँपालिकाले बिरामी बोक्नका लागि प्रयोग गरिने अन्य भाडाका सवारी साधनका चालकलाई समेत पिपिई उपलब्ध गराइएको उहाँले बताउनुभयो । ‘जौवारी स्वास्थ्य चौकी केन्द्रका एम्बुलेन्स चालक, बिरामी बोक्ने बलेरो जीपका चालकलाई पिपिई बितरण गरिएको छ, अध्यक्ष गुरुङले भन्नुभयो, त्यसबाहेक सुरक्षाकर्मीका लागि समेत सञ्चार सम्पर्कमा सजिलो होस् भन्ने उद्देस्यले सिमकार्ड सहित मोवाईल उपलब्ध गराईएको छ ।’
अध्यक्ष गुरुङका अनुुसार गाउँपालिका भित्र रहेको इलाका प्रहरी कार्यालय जौवारी, प्रहरी चौकी नयाँ साँधु, चोरकाटे प्रहरी चौकी, इलाका प्रहरी कार्यालय हर्मी, अस्थायी प्रहरी पोष्ट धारापानीलाई मोवाईल र सिमकार्ड बितरण गरिएको हो । गाउँपालिकाले पालिका भित्रका सवै वडामा कोरोना भाइरसको रोकथामका लागि कोरोना रोकथाम, नियन्त्रण र व्यवस्थापनका लागि बिपत प्रतिकार्य समुह समेत गठन गरेको अध्यक्ष गुरुङले जानकारी दिनुभयो ।