गोरखा १८, चैत ।गण्डकी प्रदेश सरकारले लकडाउनका कारण दैनिक गुजारा चलाउन नसक्ने नागरिकहरुलाई स्थानीय तह मार्फत राहात उपलब्ध गराउने निर्णय गरेको छ । प्रदेश सरकारले प्रदेश भित्रका ८८ वटै स्थानीय तहहरुमा दैनिक गुजारा चलाउन नसकेका व्यक्तिहरुलाई सहयोगका लागि रकम निकासा गर्ने निर्णय गरेको गण्डकी प्रदेशका भूमिव्यवस्था कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापाले जानकारी दिनुभयो ।
उहाँका अनुसार उक्त सहयोगका लागि प्रदेश सरकारले महानगरपालिकालाई रु १ करोड रुपैया, २६ नगरपाालिकालाई प्रति नगरपालिका रु १० लाख रुपैया र ५८ वटा गाउँपालिकालाई प्रति गाउँपालिका रु ५ लाख रुपैया उपलब्ध गराउने निर्णय गरेको छ । प्रदेश सरकारले उपलब्ध गराउने रकम सम्बन्धित स्थानीय तहले माफदण्ड बनाएर दैनिक गुजार चलाउन नसकेका व्यक्तिहरुलाई तथ्याङकको आधारमा वडा कार्यालय मार्फत जिन्सी राहात प्याकेज उपलब्ध गराउने उहाँले बताउनुभयो ।
प्रदेश सरकारले उपलब्ध गराउने रकम प्रदेश सरकारको चालु आर्थिक बर्षमा बचत हुने जुनसुकै शिर्षक वा अर्थ बिबिध शिर्षकबाट उपलब्ध गराउने मन्त्री थापामगरको भनाई छ । राहात बितरणको सम्बन्धित जिल्लाका प्रदेश सभाका सदस्यहरुको सहभागितामा जिल्ला स्तरीय आपूर्ति अनुगमन समितिले अनुगमन गर्ने व्यवस्था मिलाइएको जनाइएको छ ।