काठमाण्डौं १८, चैत । बिश्वस्वास्थ्य संगठन (डब्लुएचओ) ले लकडाउनका बेला शारीरिक सक्रियता भने कायम राख्न आग्रह गरेको छ । लकडाउनका बेला घरमै बस्दा धेरैले टेलिभिजन हेर्ने, मोबाइल–कम्प्युटर बढी चलाउने, पुस्तक पढ्ने जस्ता काममा दिन बिताइरहेको भन्दै विश्व स्वास्थ्य सङ्गठनले हरेक २० देखि ३० मिनेटको अन्तरमा उठेर पाँच मिनेटसम्म शरीर तन्काउने, घर वरिपरि वा सिँढीमा तलमाथि गर्ने, बगैँचा वा वरिपरि घुम्ने गरेमा स्वास्थ्य सुधार हुने बताएको छ । हरेक दिन शरीरलाई सक्रिय बनाउनको लागि एउटा तालिका बनाइ घरमै गर्न सकिने व्यायामहरु गर्न पनि विश्व स्वास्थ्य सङ्गठनले आग्रह गरेको छ ।
लकडाउनका बेला शरीरलाई सक्रिय राख्न विश्व स्वास्थ्य सङ्गठनले दिएका केही सुझावहरु
एक वर्षभन्दा कम उमेरका शिशुहरूका लागि
बच्चा ब्युँझिएको बेला उसँगै बिताउनुस् । तपाईँ बच्चासँग भुइँमा खेल्ने खेलहरु खेल्नुहोस् ।
पाँच वर्षभन्दा कम उमेरका बच्चाहरूको लागि
घर र यसको वरिपरिको खेल्न सकिने खेलहरु खेल्ने । बच्चाहरुमा श्वास बढ्ने गरी वरिपरि दौडने, उफ्रने, चिप्लने जस्ता खेलहरु खेल्ने ।
पाँच वर्षदेखि १७ वर्षसम्मका बच्चा तथा किशोर अवस्थाका लागि
परिवारका साथ सक्रिय भएर खेल्ने ।
सम्भव भए अनलाइनबाट शारीरिक शिक्षा कक्षा लिएर उपयुक्त व्यायमहरु गर्ने ।
घरको भित्र नै उफ्रेर डोरी नाघ्ने जस्ता खेल खेल्ने वा नयाँ खेलहरु र यति सक्नु भन्ने लक्ष्य लिएर विभिन्न खेल खेल्न सकिन्छ ।
नयाँ सीपहरु सिक्ने जस्तो विभिन्न तरिकाबाट जादु गर्न सक्ने ।
तौल उठाउने, घिसार्ने जस्ता मांसपेशीमा बल पुग्ने खालका गतिविधिहरु गर्ने ।
वयस्कहरूको लागि
सकेसम्म सिँढीमा चढ्नुहोस्
धेरै शारीरिक गतिविधि हुनको लागि घरको कामहरू गर्नुहोस्
मुटुको गति बढाउने खालको काम गरिरहने दिनचर्या बनाउनुहोस्
तौल उठाउने, घिसार्ने जस्ता मांसपेशीमा बल पुग्ने खालका गतिविधिहरु गर्नुहोस्
सम्भव भएमा अनलाइन कक्षा लिएर विभिन्न व्यायामहरु गर्नुहोस्
सिट अप, प्रेस अप जस्ता व्यायमहरु गर्नुहोस्
वातावारण सङ्गीतमय बनाउनुहोस्, नाच्नुहोस्
परिवारका सदस्यहरु मिलेर मन पर्ने खेलहरु प्रतियोगिताकै रुपमा खेल्नुहोस्