गोरखा १० चैत । गण्डकी प्रदेशमा भोली (मंगलबार) बाट लागू हुनेगरी एक हप्तासम्म प्रदेशका सबै नाका बन्द गर्ने निर्णय गरेको छ । कोरोना भाईरस (कोभिड १९) नियन्त्रण तथा रोकथामका लागि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको संयोजकत्वमा गठीत उच्चस्तरीय निर्देशक समितिको सोमबार बसेको बैठकले प्रदेश भित्रिने नाकाहरुमा अत्यावश्यकीय उपभोग्य वस्तुहरुको बाहेक अन्य आवतजावतमा रोक लगाउने निर्णय गरेको हो ।
अत्यावश्यक बाहेकका सबै सवारीसाधन र व्यक्तिलाई प्रदेशको क्षेत्रभित्र प्रवेश निषेध गरिएको गण्डकी प्रदेश स्वास्थय निर्देशनालयका प्रमुख डा.विनोद विन्दु शर्माले बताउनुभयो । गण्डकी प्रदेश प्रवेश गर्ने नाकाहरू त्रिवेणी, दाउन्ने, गैडाकोट, राम्दी, आरुघाट, कोराला लगायत नाकाहरुमा प्रवेश निषेध गरिएको हो । यसैगरी अर्को सूचना जारी नहुन्जेल सम्मका लागि उद्योग, कल काराखाना, सार्वजनिक यातायात, शिक्षा लगायतका सेवा बन्द गर्ने निर्णय समेत बैठकले गरेको छ ।
गण्डकी प्रदेशमा कुनै संक्रमित व्यक्ति भेटिए उपचारका लागि पोखराको लेखनाथ स्थित लेखनाथ सामुदायिक अस्पतालमा ६० शैयाको अस्पताल तयारी अवस्थामा राखिएको डा.शर्माले बताए । पोखराका निजी तथा सरकारी ५० शैयाभन्दा माथिका अस्पतालमा न्यूनतम ५ बेड आइसोलेसन वार्ड तत्काल स्थापना गर्ने निर्णय गरिएको उहाँको भनाई थियो ।
साथै हालका लागि अस्पतालहरुमा दिईँदै आएको ओपीडी सेवा समेत बन्द गरिएको जनाईएको छ । सम्भावित कोरोना संक्रमणलाई ध्यान दिँदै सरकारले अस्पतालमा व्यक्तिगत सुरक्षा सामग्री (पिपिइ) १० सेटसमेत तयारी अवस्थामा राख्न र ल्याबका कर्मचारीलाई अवाश्यक तालिम निर्देशन दिएको छ । भेन्टिलेटर समेत चालु अवस्थामा राख्न भनिएको छ ।
क्वारेन्टाइनका लागि कृषि तालिम केन्द्र मालेपाटनलाई पहिलो चरणमा उपयोग गरिने भएको छ । शिक्षा, वन, भेटेरिनरी तालिम केन्द्र र सशस्त्र बल, विपद व्यवस्थापन केन्द्र लामापाटनलाई क्वारेन्टाइन होमका रुपमा बन्दोबस्ती अवस्थामा रहन बैठकले निर्देशन दिएको छ । यस्तै वैकल्पिक व्यवस्थाका लागि मातृशिशु मितेरी अस्पताल बाटुलेचौरलाई तोक्ने र आर्मी अस्पताललाई आइसोलेटेड अस्पतालका रुपमा प्रयोग गर्न संघीय सरकारलाई अनुरोध गर्ने निर्णय गरेको छ ।
आइसोलेसन वार्ड व्यवस्थापन गर्ने प्रतिबद्धता जनाएका अस्पताललाई तयारी अवस्थामा रहन भनिएको छ । यसैबीच देशकै सबैभन्दा ठूलो पोखरा महानगरले पनि भोलिबाट लागू हुनेगरी पोखरामा चल्ने नगर यातायात बन्द गर्ने भएको छ । अत्यावस्यक काम बाहेकका सवारी साधन नचलाउन महानगरका मेयर मानबहादुर जिसीले आग्रह गरेका छन । कुनै वडामा संक्रमित भेटिएको अवस्थामा वडा नै लक डाउनको नीति समेत अवलम्बन गरिने उहाँले जानकारी दिनुभयो ।