गोरखा ८, चैत । नेपाल पत्रकार महासंघ गोरखाले समाचार संकलन र सम्प्रेषण गर्दा सुरक्षित भएर मात्र गर्न जिल्ला स्थित पत्रकारहरुलाई आग्रह गरेको छ । महासंघका अध्यक्ष किशोरजंग थापाको अध्यक्षतामा आज बसेको बैठकले गोरखाका सबै सञ्चारकर्मीहरुलाई पहिले आफु सुरक्षित रही समाचार सम्प्रेषण गर्न र कोरोना बिरुद्ध आधारभूत उपाय अपनाउन अनुरोध गरेको हो ।
महासंघले समाचार संकलनका लागि भिडभाड हुने स्थानमा नजान र सरकारी अधिकारी वा निकायको सूचनामा आधारित भएर समाचार सम्प्रेण गर्न समेत भनेको छ । त्यस्तै जिल्ला स्थित पत्रपत्रिकाहरुको बितरणमा सजगता अपनाउन महासंघले सवै सञ्चारगृहलाई आग्रह समेत गरेको छ । बैठकले सञ्चार माध्यमबाट सही र उचित सूचना सम्प्रेषण गर्ने, गराउने, जनतालाई भय नहुने गरी सूचना सन्देश नियमित सम्प्रेषण गर्न गराउन पनि जिल्लाका सञ्चार गृह र सञ्चार माध्यमलाई अनुरोध गरेको छ ।
त्यसै गरी कोरोना भाईरसबारे सचेतना जगाउन स्थानीय तहलाई संम्बन्धित सरकारी निकायले गरेका गतिविधी र क्रियाकलाप बारे नियमित सूचना आदान प्रदान गर्न गराउन महासंघले आग्रह गरेको छ । महासंघले सर्वसाधारण नागरिकलाई आधारभुत र अत्यवश्यक सचेतनाका उपाय अपनाउन अनुरोध पनि अनुरोध गरेको छ । बैठकले कोरोना भाईरस त्रासको मौका छोपेर कालोबजारी, यातायात साधनमा मनोमानी शुल्क लिने, दैनिक उपभोग्य सामग्री महँगोमा बिक्री गर्ने, कृत्रिम अभाव सिर्जना गर्ने जस्ता काम नगर्न नगराउन संम्बद्ध पक्षमा आग्रह गर्दै र सरोकारवाला निकायलाई नियमित अनुगमनमा जोड दिन आग्रह गरेको जनाइएको छ ।
अहिले संम्बेदनशिल अबस्था रहेकाले जिल्लाका सबै स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीलाई आवश्यक साधन श्रोत उपलब्ध गराउन स्थानीय, प्रदेश र संघिय सरकारलाई बैठकले अनुरोध गरेको छ ।