गोरखा ८ चैत ।
मनकामना मन्दिरदर्शन गर्न जाने दर्शनार्थीहरुको सहजताका लागि संचालनमा ल्याएको मनकामना केवलकार सेवा आजदेखि बन्द हुने भएको छ । कोरोना भाइरसको सङ्क्रमणको सजगताका लागि सो सेवा बन्द हुने भएको हो । मनकामना दर्शन प्रालिले आज सूचना प्रकाशित गर्दै आजदेखि मनकामना केवलकारको सेवा बन्द गर्न लागिएको जानकारी दिएको छ ।
कम्पनीका नायब महाप्रबन्धक डिएन कायस्थका अनुसार कोरोनाभाइरस सङ्क्रमण रोक्न सरकारको निर्णयलाई सहयोग पु¥याउन शनिबारदेखि कम्पनीको सेवा बन्द गर्न लागिएको हो । अब मनकामना केबलकारको सेवा चैत ३० गतेबाट मात्र सञ्चालनमा आउनेछ । कोरोनाको त्राससँगै पछिल्लो केही दिनयता केवलकारमा यात्रा गर्न आउने घटेका थिए ।
चितवनको इच्छाकामना–४ स्थित प्रवेशद्वार ९बटम स्टेशन० रहेको मनकामना केवलकारबाट दैनिक तीन हजार ५०० को सङ्ख्यामा दर्शनार्थी मनकामना मन्दिर पुग्ने गर्दछन् । सहायता कक्ष स्थापना चितवनको इच्छाकामना गाउँपालिकाले कोरोनासम्बन्धी सचेतनाका लागि दुई ठाउँमा हेल्थ डेस्क स्थापना गरेका छन् ।
गाउँपालिका कार्यालय परिसर कुरिनटार र मनकामना केवलकारको बटम स्टेशन चेरेशमा स्वास्थ्य हेल्थ डेस्क आजदेखि सञ्चालनमा ल्याएको हो । मनकामना केबलकारमा एक जना स्वास्थ्यकर्मी उपलब्ध गराई सहयोग गरिएको गाउँपालिका स्वास्थ्य शाखाका संयोजक वासुदेव सापकोटाले जानकारी दिनुभयो ।
गोरखाको शहीद लखन गाउँपालिकास्थित प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरमा स्वदेशी तथा विदेशी गरी दैनिक हजारौँ दर्शनार्थी केवलकार चढेर जाने गर्दछन् । त्यसैलाई मध्यनजर गर्दै हेल्थ डेस्क सञ्चालनका लागि गाउँपालिकाले स्वास्थ्यकर्मी उपलब्ध गराई सहयोग गरिएको संयोजक सापकोटाले बताउनुभयो ।
स्वास्थ्यकर्मीसँगै नेपाल सरकार स्वास्थ्य मन्त्रायबाट जारी गरेको कोरोना सचेतनामूलक नारासहितको पर्चासमेत उपलब्ध गराएका छन् । गाउँपालिकाभित्रका राजमार्गका होटलमा सचेतनामूलक कार्यक्रमका साथै सचेतनामूलक माइकिङसमेत गर्न शुरु गरिएको संयोजक सापकोटाले जानकारी दिनुभयो ।