गोरखा ८ चैत ।
जिल्ला कारागार गोरखामा रहेका कैदीबन्दीलाई सम्भावित कोरोना भाइरसको जोखिमबाट सुरिक्षत गर्न बाहिरी भेटघाटमा रोक लगाइएको छ । बाहिरबाट जाने कैदीबन्दीका आफ्न्त, शुभचिन्तक, छिमेकी लगायत भेटघाटमा जाँदा भाइरसको संक्रमणको खतरा हुनसक्ने भएकाले भेटघाटमा रोक लगाइएको कारागारका निमित्त कार्यालय प्रमुख रबिलाल सुवेदीले जानकारी दिनुभयो ।
‘भाइरसको जोखिम बिश्वभरी फैलिएको छ, कारागार भित्र बन्दीहरुको चाप उस्तै छ, बाहिरबाट आएका व्यक्ति संक्रमित रहेछ भने भित्र रहेका सवैलाई सर्नसक्छ, उहाँले भन्नुभयो, त्यसका लागि केही समयसम्मका लागि भेटघाटलाई पूर्णरुपमा बन्द गरेका हौ ।’सरकारले कारागार भित्र हुनसक्ने सम्भावित संक्रमणलाई रोक्न आबश्यक पहल निर्देशन दिएसंगै जिल्ला कारागारले यस्तो निर्णय लिएको सुवेदीले जानकारी दिनुभयो ।
बाहिरी व्यक्तिहरुसंगको भेटघाट नहुदा कारागारमा कोरोना भाइरसको जोखिम कम हुनसक्ने उहाँको भनाई छ । त्यस्तै कार्यालयले कारागार भित्र रहेका सवै कैदीबन्दीहरुलाई भाइरसको जोखिमबाट सुरिक्षत हुन नियमित रुपमा सावुन पानीले हातधुन, मास्कको प्रयोग गर्न आग्रह गरिएको उहाँले बताउनुभयो ।
‘बिशेषगरी सरसफाईमा ध्यान दिन हामीले सवैलाई आग्रह गरिरहेका छौ, सुबेदीले भन्नुभयो, ‘कारागारमा संक्रमणबाट सुरक्षित राख्न अपाउनुपर्ने प्राय सवै उपाय कारागार प्रसासनले गरिरहेको छ ।’ उहाँले कारागारले भित्रका कैदीबन्दीहरुलाई बाहिरबाट आफ्न्त छिमेकी वा कसैले लगेको खानेकुरा खान समेत रोक लगाएको जानकारी दिनुभयो ।