सशस्त्र प्रहरी र नेपाली सेनाको टोली त्रीदेशीय सीमाको गस्तीमा खटिएको छ । भारतीय हस्तक्षेपमा परेको कालापानी क्षेत्र नजिकै पुग्ने गरी दार्चुला सदरमुकाम खलंगाबाट हिजो सेना र सशस्त्रको टोली त्यसतर्फ लागेको हो । कालापानी क्षेत्रभन्दा झण्डै १२ किलोमिटर दक्षिणी क्षेत्रमा निर्माण हुने बीओपी (बोर्डर आउट पोस्ट) निर्माण क्षेत्रको स्थलगत अध्ययन गर्न टोली त्यसतर्फ लागेको हो ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्म हेड क्वाटर दार्चुलाका गुल्मपति डम्मर बहादुर बिष्टको नेतृत्वमा १५ जना सशसत्र प्रहरीको टोली क्षेत्रको अध्ययन गर्न गएको जनाइएको छ । व्याँस गाउँपालिका वडा नम्बर १ गागामा बन्ने बीओपी निर्माण क्षेत्रको स्थलगत अध्ययन गर्न र आफ्नो सीमाको नियमन गर्न टोली त्यसतर्फ लागेको गुल्मपति बिस्टले जानकारी दिनुभयो ।
टोली चैत्र १० गते मात्रै खलंगा फर्किने छ । अहिले बिओपी बन्ने क्षेत्र (व्याँस गाउँपाकिला वडा नम्बर १ गागा) मा हिउँ जमेको अवस्था रहेकोले सो क्षेत्रको वास्तविकता बुझी आवश्यक काम कारवाही अगाडि बढाउन सजिलो हुने गुल्मपति बिस्टको भनाइ छ ।