Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

उपप्रधानमन्त्रीले पोखरेलले झोक्किदै भन्नुभयो, ‘म ठोकुवा गर्छु, गण्डकी प्रदेश सरकारले गरी खादैन’


2.5K
Shares

उपप्रधानमन्त्रीले पोखरेलले झोक्किदै भन्नुभयो, ‘म ठोकुवा गर्छु, गण्डकी प्रदेश सरकारले गरी खादैन’

पोखरा-उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले गण्डकी प्रदेश सरकार काम गर्ने सवालमा गम्भीर नभएको भन्दै आलोचना गर्नुभएको। उहाँले प्रदेश सरकारकै वेवास्ताका कारण पोखराको रत्न मन्दिर र हिमागृह सार्वजनिक रुपमा खुला गर्न ढिला भइरहेको टिप्पणी गर्नुभएको हो ।

‘आफूले गर्नुपर्ने र गर्न सक्ने काम नगर्ने, खाली संघीय सरकारलाई गाली गर्ने ?,’ आइतबार उहाँलाई भेटन पोखराबाट काठमाडौं पुगेको प्रतिनिधि मण्डलसँग उपप्रधानमन्त्री पोखरेलले भन्नुभयो, ‘म ठोकेर भन्छु, यो सरकारले गरी खाँदैन ।’

कोरोनाका कारण पर्यटन उद्योग ध्वस्त भएको भन्दै सरकारसँग राहातको प्याकेज माग गर्न गएका व्यवसायी र जनप्रतिनिधिको टोलीसँग पोखरेलले यस्तो प्रतिक्रिया दिनुभएको हो। पोखराका व्यवसायीले ज्ञापन पत्र बुझाइसकेपछि हिँड्ने बेलामा प्रदेशसभा सांसद राजीव पहारीले रत्न मन्दिर र हिमागृह छिटो खुला गर्न आग्रह गरेपछि नेपाल ट्रस्टका अध्यक्षसमेत रहेका उपप्रधानमन्त्री पोखरेल झोक्किनु भएको थियो ।

‘यहाँ तपाईंहरु सबै पोखराको हुनुहुन्छ । आज मैले भन्नै पर्छ, संघीय सरकारका कारण रत्न मन्दिर र हिमागृह नखोलिएको जसरी प्रचार गरिँदै छ,’ उहाँले प्रदेश सांसद पहारीलाई इंगित गर्दै भन्नुभयो, ‘आफूले गर्नुपर्ने काम केही नगर्ने खालि माथि माथि दोष देखाएर बस्ने ? तपाईंहरुले गरी खानुहुन्न ।’

मन्त्री पोखरेलले प्रदेश सरकारलाई रत्न मन्दिर र हिमागृह सञ्चालनसम्बन्धी प्रस्ताव पेस गर्न पटक पटक भने पनि कामै नगरेको बताउनुभयो । ‘त्यो नेपाल ट्रस्टको नाममा रहेको सम्पत्ति हो, यत्तिकै दिन मिल्दैन,’ उहाँले भन्नुभयो, ‘सञ्चालनसम्बन्धी एउटा प्रस्ताव बनाउनुस्, सम्झौता गरिहालौं भनेको थिएँ । अहिलेसम्म १ प्रस्ताव पेस गर्न सकेका छैनन् । अनि ठूला कुरा गर्ने ?’

मन्त्री पोखरेलले रत्न मन्दिरकै लागि भनेर आफू ३ दिन पोखरा बसेकोसमेत स्मरण गर्नुभयो । ‘काम गरौं भन्ने हो भने म त्यही भएको बेलामा २ दिनभित्रै प्रस्ताव बनाएर ल्याउन सकिन्थ्यो,’ उहाँले भन्नुभयो, ‘आफू काम नगर्ने अनि संघीय सरकारलाई दोष दिने, यो ठिक नियत होइन । प्रस्ताव ल्याउनासाथ सम्झौता गर्न तयार छौं ।’

मन्त्री पोखरेलले केन्द्रलाई भन्दा प्रदेश सरकारलाई दबाब दिन सांसद पहारीलाई सुझाव दिनुभयो ।

किन रिसाए उपप्रधानमन्त्री पोखरेल ?

नेकपा स्थायी समिति सदस्य तथा उपप्रधानमन्त्री ईश्वर पोखरेल प्रायः हँसिलो मुद्रामा प्रस्तुत हुने नेतामा पर्नुहुन्छ । उहाँ हरेक प्रश्नको जवाफ पनि हँसिलो अनुहार बनाएरै दिने गर्नुहुन्छ । तर आइतबार त्यस्तो भएन । उहाँ गण्डकी प्रदेश सरकारसँग बढी नै रिसाएको प्रष्ट बुझिन्थ्यो । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र उपप्रधानमन्त्री पोखरेल दुवै प्रधानमन्त्री केपी शर्मा ओली निकटस्थ हुन् । दुवैले ओलीलाई अप्ठेरो पर्दा काँध थाप्ने गरेका छन् । तिनै गुरुङको नेतृत्वमा बनेको सरकारलाई ‘गरी नखाने’सम्म भन्ने गरी किन रिसाउनुको कारण के हो ?

उपप्रधानमन्त्री पोखरेल कोरोना भाइरसबाट उत्पन्न विपद व्यवस्थापन समिति संयोजक पनि हुुनुहुन्छ । त्यही समितिले आइतबार सातै प्रदेशका मुख्यमन्त्री र स्वास्थ्य मन्त्रीलाई छलफलका लागि काठमाडौं बोलाएको थियो । तर गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले बैठकमा सहभागी हुन नभ्याउने सन्देश पठाउनुभयो । उहाँले आफ्नो प्रतिनिधित्व स्वास्थ्य मन्त्री नरदेवी पुनले गर्ने जानकारी उपप्रधानमन्त्रीको सचिवालयलाई गराउनुभयो । जुन कुरा पोखरेललाई चित्त बुझेको थिएन ।

स्रोतका अनुसार पोखरेलको सचिवालयले मुख्यमन्त्री गुरुङलाई शनिबार दिउँसो १२ बजेको फ्लाइटमा काठमाडौं पुगेर आफ्ना कुरा राखेपछि दिउँसो नै पोखरा फर्कने गरी कार्यक्रम बनाउन आग्रह गरेको थियो । त्यो आग्रह पनि गुरुङले अस्वीकार गर्नुभयो । प्रदेश विकास परिषद बैठकको तयारीमा जुटेकाले आफू सहभागी हुन नसक्ने गुरुङले जानकारी गराउनुभयो । आकस्मिक रुपमा आइलागेको राष्ट्रिय विपत व्यवस्थापनका लागि आयोजना गरिएको महत्वपूर्ण बैठकलाई समय नदिएर विकास परिषद बैठकलाई महत्व दिएको भन्दै पोखरेल रिसाएको स्रोतले दाबी गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology